ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश ६ः जनतासँग मुख्यमन्त्री कार्यक्रम

Feb 21, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

फागुन ९, सुर्खेत । देशको सबैभन्दा कान्छो प्रदेशको रुपमा चिनिएको प्रदेश नम्बर ६ मा जनतासँग मुख्यमन्त्री कार्यक्रम लागू गरिने भएको छ । विकासको हिसाबले पछाडि परेको भन्दै प्रदेशका नवनियुक्त मन्त्रीहरुले सम्मुन्नत प्रदेश निर्माणका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । गरीबी र अभावमा बाँचिरहेको प्रदेश ६ लाई समृद्ध प्रदेशको रुपमा विकास गर्न जनतासँग मुख्यमन्त्री कार्यक्रम गर्न लागिएको हो ।

प्रदेश ६ सरकारको पहिलो बैठकले अल्पकालिन तथा दीर्घकालिन कार्यक्रमसहित विभिन्न २१ निर्णय गरेको छ । नव नियुक्त मन्त्रीहरुको शपथ ग्रहणलगतै आइतवार साँझ बसेको बैठकले आर्थिक, सामाजिक र पूर्वाधार निर्माणमा जोड दिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा उनकै कार्यालयमा बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित आर्कषक र महत्वकांक्षी नारा समेत तय गरेको छ । मन्त्रिपरिषदले सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत गरिने विषयवस्तुहरु समेत पहिलो बैठकमै समेटेको छ ।

मन्त्रिपरिषदले सरकारको प्रवक्तामा भूमि सुधार कृषि, पशु सेवा तथा सहकारी मन्त्री विमला केसीलाई नियुक्त गरेको छ । प्रवक्ता केसीका अनुसार जनतासँग मुख्यमन्त्री कार्यक्रम लागू गर्नका लागि छिट्टै कार्यविधि बनाईने छ । ‘जनता र प्रदेश सरकारबीच सम्बन्ध स्थापित गर्न यो कार्यक्रम शुरु गरिनेछ,’ उनले भनिन् ।

बैठकले प्रदेश ६ को पर्यटकीय गन्तव्य र सम्भावनालाई पहिल्याउन आगामी वर्ष ‘रारा कर्णाली महोत्सव’ आयोजना गर्ने भएको छ । त्यस्तै ‘वातावरणमैत्री हरित अर्थतन्त्र प्रदेशको मुलमन्त्र’, ‘गरीब जनताको धन, जडीबुटी वन्यजन्तु र वन’, ‘रैथाने बालीको संरक्षण, अर्गानिक प्रदेशको आधार’, ‘समृद्ध प्रदेशका लागि लगानीमैत्री वातावरण’, ‘एक गाउँ एक घरेलु उद्योग’, ‘ज्येष्ठ नागरिक देश दर्शन’ लगायतका कार्यक्रम शुरु गरिने भएको छ ।

प्रदेशलाई डिजिटल प्रदेश बनाउने निर्णय पनि बैठकले गरेको छ । भू–उपयोग नीति निर्माण गरी व्यवस्थित बस्ती विकास, व्यावसायिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने, एक सहकारी एक उत्पादन नीति लागू गर्ने, प्रत्येक गाउँ तथा नगरपालिकामा १५ शैयाको अस्पताल बनाउने कार्यक्रम रहेका छन् । बैठकले हुम्ला र डोल्पामा दुई वर्षभित्र सडक पु¥याउने, उत्तर जोड्ने तीन ओटै नाका खोल्ने निर्णय गरेको छ ।

‘अबको १० वर्षभित्र विकसित प्रदेशको रुपमा अघि बढाउने प्रदेश सरकारले निर्णय गरेको छ,’ अर्थ मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने । उनले गरीबी, अशिक्षा, भोकमरी हुने प्रदेशलाई अबको १० वर्षमा नयाँ उचाईमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । प्रदेश ६ प्राकृतिक उपहारको रुपमा रहेपनि पनि सदुपयोग हुन नसकेकै कारण पछाडि परेको उनको बुझाई छ ।

उनले प्रकृतिले दिएको उपहारको प्रयोग गरी पर्यटन प्रवर्द्धनका लागि उपलब्ध साधन, स्रोतको परिचालन गरी आर्थिक रुपमा प्रदेशलाई समृद्ध बनाउने बताए । ‘यो प्रदेश जस्तो अरु प्रदेशमा प्राकृतिक स्रोत, साधन पर्याप्त छैन, यहाँ भएका खनिज तत्व र प्रकृतिको सदुपयोग गरी विकसित प्रदेश बनाउन समय लाग्ने छैन,’ उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)