ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथाको उचाइ मापन नेपाल आफैंले गर्ने : कार्यस्थलमा खटियो प्राविधिक टोली

Feb 26, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल आफैंले पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने भएको छ । सो कार्ययोजनाअनुरूप प्राविधिक टोली प्रारम्भिक कार्यका लागि कार्यस्थल जान लागेको हो । सगरमाथाको उचाइ नाप्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागको १३ सदस्यीय प्राविधिक टोली सिराहाको मिर्चैया पुगेको छ । सगरमाथाको उचाइको आधिकारिकताबारे फरकफरक धारणा आइरहेका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानिएको छ । अन्तरराष्ट्रिय समुदायको समेत सहभागिता र समर्थनमा सगरमाथाको उचाइ मापनको गृहकार्य अघि बढाएको नापी विभागले जानकारी दिएको छ । विभागले मापन कार्य शुरू गर्नुअघि गत मङ्सिर २५ र २६ गते विभिन्न देशका वैज्ञानिकलाई काठमाडौंमा आमन्त्रण गरी अन्तरराष्ट्रिय गोष्ठी आयोजना गरेको थियो । भारत, चीन, अमेरिका, इटालीलगायत देशका वैज्ञानिक सम्मिलित उक्त गोष्ठीले सगरमाथाको उचाइ मापनको कार्यविधि तयार गरेको थियो । गोष्ठीले तयार पारेको कार्यविधिअनुरूप अहिले नेपाली टोलीले प्रारम्भिक कार्य शुरू गरेको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवम् विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिए । विभागसँग दक्ष जनशक्ति भए पनि उचाइ मापन विश्वभर स्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको डङ्गोलले बताए । उनले यो मापनलाई अन्तरराष्ट्रिय मान्यता दिलाउनुपर्ने भएकाले चुनौतीपूर्ण भएको बताए । चैत महीनासम्ममा लेबलिङको कार्य सक्ने र करीब २ महीनापछि मात्र अर्काे टीमले जीपीएस मापन गर्ने प्रमुख नापी अधिकृत डङ्गोलले जानकारी दिए । टोलीले अहिले सिराहाबाट लेबलिङको काम शुरू गरिसकेको उनले जानकारी दिए । विभागले यस आर्थिक वर्षभित्र सिराहादेखि ओखलढुङ्गासम्म लेबलिङको काम सक्ने लक्ष्य राखेको छ । अवधि २ वर्ष, लागत २५ करोड सगरमाथाको उचाइ पूर्ण मापनका लागि २ वर्षको समय लाग्ने विभागले बताएको छ । सगरमाथाको उचाइ मापन गरेर त्यसको प्रतिवेदन तयार पार्न २५ करोड रुपैयाँ खर्च हुने प्रमुख नापी अधिकृत डङ्गोलले जानकारी दिए । यो आवका लागि २ करोड बजेट उपलब्ध गराइसकिएको समेत उनले बताए । उचाइ मापनमा एउटा मात्र विधि प्रयोग गर्दा प्रश्न उठ्ने भएकाले ‘डाइरेक्ट मिजरमेण्ट, ‘ट्रेङ्गुलेशन’ र जीपीएस प्रणालीबाट मापन गरिने विभागले जानकारी दिएको छ । ‘डाइरेक्ट मिजरमेण्ट’ विधिमा प्रत्यक्ष रूपमा अगाडि÷पछाडि गरेर चुचुरोसम्मको उचाइ नापिने, ‘ट्रेङ्गुलेशन’ विधिमा निश्चित बिन्दुलाई आधार बनाएर त्यसको कोण पत्ता लगाउने र सोही आधारमा क्रमशः अन्य बिन्दुको कोण बनाउँदै उचाइ मापन गरिनेछ । तेस्रो विधि गुरुत्वलाई आधार बनाएर जीपीएस प्रणालीबाट गरिनेछ । हाल प्रमाणित सगरमाथाको उचाइ ट्रेङ्गुलेशन’ विधिबाट गरिएको विभागले जानकारी दियो । यसअघि सन् १९५४ मा तत्कालीन सर्भे अफ इण्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो । नेपाल सरकारले ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक उचाइ मान्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)