ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ पाइलट ल्याउने तयारीमा निगम

Mar 1, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ । चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो । चारओटा वाई १२ सिरिजका जहाज उडाउन निगमसँग २ जना मात्रै पाइलट छन् । पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल शुरू भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । उनले भने, ‘निगमले वाई १२ जहाज उडाउने पाइलटको विज्ञापन गरेको छ ।’ पाइलट अभावकै कारण वाई १२ सिरिजका जहाज पर्याप्त मात्रामा उडान गर्न सकिएको छैन । वाई १२ जहाज उपलब्ध गराउने कम्पनीले आफूसँग अङ्ग्रेजी भाषा बोल्ने ३ चिनियाँ पाइलट रहेको जानकारी दिएपछि छलफल शुरू भएका हो । निगमले २ साताअघि ल्याएका २ ओटा वाई १२ सिरिजका जहाजको उडान भने शुरू गरेको छैन । अहिले जहाज उडानका लागि प्राधिकरणसँग कागजी प्रक्रिया शुरू गरेको कंसाकारले बताए । उनका अनुसार कागजी प्रक्रिया पूरा गरेसँगै नियमित उडानका लागि चिनियाँ पाइलट ल्याइनेछ । निगमले ३ वर्षअगाडि पनि एयरबस उडाउने पाइलट मासिक १६ लाख खर्च गर्दै विदेशबाट नै ल्याएको थियो । आन्तरिक उडानमा पनि उच्च दुर्गम क्षेत्रमा उडान गर्न सकिने जहाज निगमले अहिले काठमाडौंलाई आधार बनाएर भैरहवा, पोखरा र सिमरामा उडान गर्दै आएको छ । चार ओटा वाई १२ जहाजका लागि निगमसँग करीब १० जना पाइलट हुनुपर्ने बताइएको छ । पाइलट नपाएको अवस्थामा अर्बौं रुपैयाँ खर्च गरेर ल्याइएको वाई १२ जहाज विमानस्थलमै राख्नुपर्ने कंसाकारले बताए । वाई १२ जहाज उडान गर्ने २ जना पाइलटका लागि ७ जना कोपाइलटले सहयोग गरिरहेका छन् । २०६९ मा नेपाल र चीनबीच ६ ओटा जहाज ल्याउने सहमति भएको थियो । ६ जहाजमध्ये दुई ओटा एमए ६० र चार ओटा वाई १२ हुन् । त्यसमा २ ओटा अनुदान र ४ ओटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो । सहमतिअनुसार नै निगमले विभिन्न चरणमा ती विमान ल्याइसकेको छ । एउटा एमए ६० र ३ ओटा वाई १२ सिरिजका जहाजमा नेपाल सरकारले करीब पौने ४ अर्ब रुपैयाँ खर्च गरेको छ । तर, वाई १२ जहाज कहाँ उडाउने भन्नेबारे निगमसँग कुनै योजना छैन । निगमसँग अब आन्तरिक उडानका लागि २ एमए ६०, ४ वाई १२ र २ ओटा ट्विनअटर जहाज छन् । अहिले निगमको १ ट्विनअटरले नियमित उडान गरिरहे पनि अर्को मर्मतमा छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)