फागुन २१, रौतहट । रौतहटको झाँझपुुल–कटहरिया सडकखण्ड निर्माण कार्यमा ढिलाई हुँदा सर्वसाधरण मर्कामा परेका छन् । बाराबाट समेत गरुडा, गौर, चन्द्रनिगाहपुर, जनकपुर, आवतजावत गर्ने मुुख्य सडकको रुपमा रहेको झाँझपुल–कटहरिया सडकखण्ड निर्माणमा ढिलाई भइरहेको स्थानीयको गुनासो छ ।
सडक निर्माणका लागि भन्दै भत्काइएको सडक समयमा निर्माण सम्पन्न नहुँदा अत्यधिक धुलो उड्ने गरेकाले उक्त सडक भएर आवतजावत गर्ने सर्वसाधारणलाई समस्या भएको स्थानीय शम्भु साहले बताए । धुलोका कारण स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थालेकाले समयमा नै सडकको काम सम्पन्न गर्न निर्माण कम्पनीलाई उनले आग्रह गरे ।
झाँझपुर–कटहरिया सडकखण्डको फतेपुुर भएर आवतजावत गर्ने सर्वसाधारणलाई स्वास–प्रस्वासमा समस्या, आँखा दुख्नेलगायतका समस्या देखिने गरेको कटहरियाका स्थानीय योगेन्द्र साहले बताए । निर्माण कम्पनीलाई उक्त सडकखण्डको बाटोमा पानी हाल्न अनुरोध गर्दा समेत वेवास्ता गरेको साहले गुनासो गरे ।
उक्त सडकखण्डमा सवारी दुर्धटनाको समेत जोखिम रहेको स्थानीयको भनाइ छ ।
निर्माण कम्पनीका ठेकदार रामसागर राउतले शर्त अनुुसार पुुरानो बाटो भत्काई माटो पुुर्ने काम भैरहेको र केही स्थानमा कल्भर्ट समेत निर्माण भएको बताए । कटहरिया नगरपालिका ७ फतेपुर गाँउ पुूर्वदेखि साढे एक किलोमिटर कालोपत्रे निर्माणका लागि गिताञ्जली आगाज कम्पनीले झण्डै दूुई करोड रुपैयाँमा ठेक्का लिएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुुरले जानकारी दिएको छ ।