ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बक्यौता तिर्न एयर एशिया तयार : तत्कालका लागि उडान नरोकिने

Mar 7, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरेबापत तिर्नुपर्ने रकम नतिरेका कारण उडान बन्द हुने अवस्था आएपछि एयर एशिया रकम तिर्न सहमत भएको छ । यो सहमतिसँगै उसको उडान बन्द हुने समस्या तत्कालका लागि टरेको छ । मलेशियाको निजी हवाई सेवाप्रदायक कम्पनी एअर एशियाको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा साँवा, ब्याज र जरीवाना गरी करीब २७ करोड रुपैयाँ बक्यौता रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थल कार्यालयले पुस २४ गतेको लिखित प्रतिबद्धताअनुरूप बक्यौता दाखिल नगरेपछि थप ६ दिनको समय दिँदै फागुन २२ गतेदेखि उडान बन्द गराउने चेतावनीपत्र एयर एशियाको मलेशिया कार्यालयमा पठाएको थियो । सोमवार काठमाडौंं आएका एयर एशियाका प्रतिनिधिले नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका अधिकारीसँग बक्यौता रकम तिर्ने सहमति गरेको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । विमानस्थलले बक्यौता रकम नतिरे मङ्गलवारदेखि उडान बन्द गराउने चेतावनीसहितको पत्र पठाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै एयर एशियाले आफ्नो बक्यौता नरहेको दाबीसहित प्रतिउत्तर पठाएको थियो । तर, प्राधिकरणले एयर एशियाको कार्यालयलाई साँवा र ब्याजसहित करीब २७ करोड रुपैयाँ बक्यौता रहेको विवरण पठाएपछि एयर एशियाको टोली यथार्थ बुझ्न नेपाल आएको क्षत्रीले बताए । ‘क्षत्रीका अनुसार एयर एशियाको केन्द्रीय कार्यालयलाई यति रकम बक्यौता रहेको जानकारी नै रहेनछ ।’ उनले भने, ‘हामीले विवरण पठाएपछि एयर एशियाको केन्द्रीय कार्यालयबाटै प्रतिनिधि आएका हुन् ।’ उनीहरू मङ्गलवारै स्वदेश फर्केको र अब केही दिनमै मलेशियाबाट बक्यौताका लागि लेखाको मानिस आउने उनले जानकारी दिए । यो सहमतिसँगै एयर एशियाको उडान नियमित हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ । २०७४ असार मसान्तसम्म विभिन्न स्वदेशी तथा विदेशी विमान कम्पनीको १३ अर्ब ६२ लाख ६५ हजार रुपैयाँ बक्यौता रहेकोमा हालसम्म ७६ करोड रुपैयाँभन्दा बढी बक्यौता असुल गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलले विमान कम्पनीसँग ल्याण्डिङ, पार्किङ, काउण्टरलगायत शुल्क लिने गर्छ । विमानस्थल सेवाशुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छूट दिने व्यवस्था छ भने ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरीवाना लाग्ने गरेको छ । सोभन्दा माथिको सोहीअनुसार जरीवानाको व्यवस्था रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)