पर्वत । भूकम्प गएको आगामी वैशाखमा ३ वर्ष पुग्छ । हालसम्म विहादी–३ का केशव पराजुलीको घर बनेको छैन । सपरिवार टहरोमा बस्दै आएका छन् । पहिलो किस्ता लिएको १ वर्षसम्म पनि उनले घर बनाउन सकेनन् । पहिलो किस्ताबापत पाएको ५० हजार घरखर्चमै सकिएपछि उनी ऋण काढेर घर बनाउने सोचमा छन् ।
बिहादी–३ रानीपानीका ज्ञानप्रसाद पराजुलीको ३ तले कच्ची घर ०७२ को भूकम्पले छियाछिया पारेको छ । पराजुली परिवारले भूकम्पलगत्तै पूर्ण क्षतिको कार्ड र तत्कालीन समयमा पाउनुपर्ने राहत, न्यानो कपडा मेत गरी ३० हजार रुपैयाँबराबरको राहत पनि पाए । पराजुली दम्पती सरकारले आवास पुनर्निर्माण अनुदान दिने सुनेपछि प्रफुल्ल थिए । तर, अघिल्लो वर्ष पूर्ण क्षतिमा परेकाहरूको आवेदन सङ्कलन गर्दै बैङ्कका कर्मचारीहरू गाउँ पुग्दा उनी आवास अनुदान पाउने सूचीमा देखिएनन् ।
साविकको रानीपानी गाविस पर्वत जिल्लामा भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको गाउँ हो । रानीपानीका वडाध्यक्ष रणबहादुर आलेका अनुसार ५ सय ७९ मध्ये ५ सयभन्दा बढी घर पूर्ण क्षति भएका छन् । तर, आवास अनुदान पाउने सूचीमा ३ सय ६१ को मात्रै नाम छ । तीमध्ये पनि केही क्षति नै नभएका घरको सूची । ‘बस्नै नमिल्ने घर धेरै छुटेका छन्,’ आलेले भने, ‘अनुदान पाउने सूचीमा सामान्य घर पनि परेका छन् । यो प्राविधिकको गम्भीर त्रुटी हो ।’ सोही वडाका टहरोमा बस्दै आएका सयभन्दा धेरै घर अनुदान पाउने सूचीमा नपरेको उनले बताए । घरमा जनशक्ति नहुनेहरू टहरो बनाउन पनि नसकेर त्रिपालले बारेर बसेका छन् । विपन्न र सामान्य व्यक्ति सम्बन्धित निकायसम्म पुगेर गुनासो गर्न सक्दैनन् ।
विहादीका अध्यक्ष कमलप्रसाद भुसालका अनुसार गाउँपालिकाका ६ वडाका करीब ६ सय बढी घर पूर्ण क्षति भएर पनि राहत पाउने सूचीमा परेकै छैनन् । ‘स्थानीय चुनावबाट हामी आएपछि छुटेको परिवारको लगत सङ्कलन गरेर पठायौं,’ भुसालले भने, ‘एक वर्ष हुन लाग्यो । कुनै जवाफ आएकै छैन ।’
पूर्णक्षतिको सूचीमा परेर घर निर्माण गरिसकेका भूकम्पपीडितले दोस्रो किस्ता रकमको अन्योलमा छन् । नजीकैका हुमनाथ पराजुलीले पनि पहिलो किस्ता लिएर शुरू गरेको घर सम्पन्न भइसक्यो । ‘घर सक्दा १६ लाख खर्च भयो,’ हुमनाथले भने, ‘सरकारले ५० हजार दिएको हो । बाँकी पैसा कहिले पाउने अन्योल छ ।’ गाउँपालिकामा अहिलेसम्म पुनःनिर्माण प्राधिकरणका प्राविधिक पुगेकै छैनन् । प्राधिकरणले २ महीनाअघि नै ३ जना प्राविधिक पठाएको भए पनि गाउँमा अझै नआएको गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले बताए ।