ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीको पर्यटन प्रवर्द्धनमा निजी क्षेत्र

Mar 12, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

फागुन २८, सुर्खेत । निजी क्षेत्रले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा अग्रगामी कदम बढाएको छ । पहिलो पटक यस क्षेत्रका पर्यटन व्यवसायीहरुले पर्यटकलाई आकर्षित गर्न हवाई जहाज भ्रमणदेखि र्‍याफ्टिङ, प्याराग्लाईडिङसम्म प्याकेजमै अफर ल्याएका छन् ।

मानसरोवर जाने धार्मिक पर्यटकसँगै कर्णाली र प्रदेश ७ को बाजुरासम्मका हवाई यात्रुलाई लक्षित गरी सहज तथा सुलभरुपमा यात्रा गराउन निजी क्षेत्र लागेको छ । कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रारा एड्भेञ्चर प्रालि, भेरी–कर्णाली र्‍याफ्टिङ एड्भेन्चर प्रालि, कर्णाली–भेरी र्‍यापिड एड्भेन्चर प्रालि र वेलकम प्याराग्लाईडिङ प्रालि जुटेका छन् । ती निजी पर्यटन कम्पनीहरुले गोमा एयरसँगको सहकार्यमा सुर्खेत तथा नेपालगञ्जदेखि प्याकेजमै मुगुको रारा भ्रमण, डोल्पाको से–फोक्सुण्डो, मानसरोवर जानेहरुका लागि हुम्ला र जुम्लासम्मको भ्रमणका लागि चैत पहिलो सातादेखि टिकट बुकिङ खुला गरेका छन् ।

रारा एड्भेञ्चर प्रालिसँगै भेरी–कर्णाली र्‍यापिड एड्भेञ्चरले संयुक्त रुपमा कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन गोमा एयरको १८ सिटे हवाई जहाजबाट मुगुको रारा ताल भ्रमणको तीन दिने प्याकेजका लागि प्रतिव्यक्ति १७ हजार ९ सय ९९ रुपैयाँ तोकेका छन् । रारा प्याकेजमा दुई तर्फी आवत–जावत प्लेन भाडा, खाना, नास्ता, र होटलको बसाईमा पाहुनाको स्वागत–सत्कारसँगै भरभूर मनोरञ्जनको व्यवस्था मिलाईएको भेरी–कर्णाली र्‍यापिड एड्भेञ्चरका सञ्चालक समुन्द्र गौतमले बताए ।

उनका अनुसार राराताल घुम्न ६ वर्ष मुनिका बालबालिका र ७० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि निःशुल्क घोडाको व्यवस्था गरिएको छ । उनले सुर्खेत र नेपालगञ्जदेखि राराका लागि गोमा एयरको नियमित उडान गर्ने व्यवस्था मिलाईएकाले पर्यटकलाई कुनै समस्या नहुने दाबी गरे । कर्णाली घुम्न आउने पर्यटकलाई जहाजको भ्रमणसँगै र्‍याफ्टिङ, प्याराग्लाईडिङसम्म प्याकेजमै अफर ल्याईएको सञ्चालक गौतम बताउँछन् । उनका अनुसार भेरी र कर्णाली नदीमा र्‍याफ्टिङ र सुर्खेतको गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमणका लागि प्याराग्लाईडिङबाट घुम्ने व्यवस्था मिलाईएको छ ।

भेरी नदी पुलदेखि कर्णाली चिसापानी पुलसम्मको तीन दिने र्‍याफ्टिङ प्याकेज प्रतिव्यक्ति १५ हजार रुपैयाँ तोकिएको छ । तीन दिने प्याकेज भित्र दुई रात नाईट क्याम्प, खाना, नास्ता, यातायात र बोटिङ समेतको व्यवस्था रहेको छ । मेहलकुनादेखि भेरी पुलसम्मको २१ किलोमिटरलाई पहिलो खण्ड र भेरी नदीदेखि रानीघाटसम्मको २४ किलोमिटरको दूरीलाई दोस्रो खण्डका रुपमा विभाजित गरिएको छ । मेहलकुना पुलदेखि भेरी पुल तथा भेरी पुलदेखि रानीघाटसम्मको र्‍याफ्टिङका लागि प्रतिव्यक्ति २५ सय रुपैयाँ तोकिएको गौतमले जानकारी दिए । उनले गृहणी तथा विद्यार्थीहरुका लागि विशेष छुट समेत व्यवस्था गरिएको बताए । त्यस्तै प्याराग्लाईडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमणका लागि फोटो र भिडियो सहित ६ हजार ५ सय रुपैयाँ तोकिएको उनको भनाइ छ ।

प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदमबहादुर शाहीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि भेरी नदी महत्वपूर्ण गन्तव्य बन्दै गएको बताए । ‘भेरीमा र्‍याफ्टिङ शुरु भएको चार वर्षयता उल्लेख्य मात्रामा बाह्य पर्यटक सुर्खेतमा भित्रिएका छन्,’ अध्यक्ष शाहीले भने, ‘यसलाई अझै प्रचार–प्रसारमा ल्याउन जरुरी छ ।’ अध्यक्ष शाहीले नजिकको छिमेकी मुलुक भारतका पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले र्‍याफ्टिङले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)