चैत ५, धनगढी । प्रदेश नम्बर ७ को प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रमा अन्तरराष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलनको आयोजना गरिने भएको छ ।
मानव प्रेरणाको पवित्र भूमिको रुपमा लिइएको र विश्वको अनुपम भूभागको रुपमा हेरिएको खप्तडमा नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले बैशाख अन्तिमसाता अन्तरराष्ट्रिय सांस्कृतिक पद यात्रा तथा काव्य सम्मेलनको आयोजना गर्न लागेको हो ।
आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउने र यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित खप्तड क्षेत्रमा सांस्कृतिक पदयात्रा गरिन लागेको आयोजकले जानकारी दिएको छ । प्रतिष्ठानले सोमवार धनगढीमा पत्रकार सम्मेलन गरी पत्रकार, साहित्यकार, लेखकको सहभागितामा सांस्कृतिक पुनर्जागरण आन्दोलनको रुपमा बैशाख अन्तिम साता सम्मेलन गर्न लागेको प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले बताए । उनले सम्मेलनमा नेपाल र भारतका करीब ५० भन्दा बढी पत्रकार, साहित्यकार, लेखकहरुको सहभागिता रहने बताए ।
सम्मेलनले खप्तडको विकास र प्रदेश नम्बर ७ कोे आर्थिक मेरुदण्डको रुपमा रहेकोे धार्मिक र प्राकृतिक पर्यटनको सम्भावनालाई पर्यटकीय स्थल बनाउन टेवा पुग्ने उनले बताए । उनले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेपाली सेनालगायतको सहभागिता गराई पदयात्रा तथा सम्मेलन कार्यक्रम अन्तर्गत चारधाम यात्राको सम्भाव्यता अध्ययनका लागि गोदावरी, पर्शुराम, दिल्पेश्वर र वैद्यनाथको अवलोकन दर्शन गराइने कार्यक्रम तय भएको जानकारी दिए ।
धार्मिक शास्त्रअनुसार हिन्दुहरुको विश्व प्रसिद्ध तीर्थस्थल कैलाशपर्वत र मानसरोवरको जलप्रभाव क्षेत्रको रुपमा यस प्रदेशको खप्तड देवभूमिलाई केन्द्रविन्दु मानिदै आएको छ । शास्त्र पुराणहरुमा खेचर पर्वतका नामले वर्णित भूस्वर्ग पर्वतकी रानी खप्तड देवलोकको आंशिक राजधानी हो । यस अघि २०६३ सालमा कैलाली उद्योग वाणिज्य सङ्घको सहकार्यमा झिग्रानादेखि खप्तडसम्म पदयात्रा गरिएको थियो ।