ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालेखाको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी

Mar 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ‘वार्षिक प्रतिवेदन–२०७४’ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने तयारी गरेको छ । नेपालको संविधानको धारा २९४ मा चैत मसान्तभित्रै राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ । समयसीमाभित्रै पेश गर्न प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य भइरहेको उक्त कार्यालयले बताएको छ । महालेखापरीक्षकको कार्यालयका निर्देशक नारायणप्रसाद पराजुलीले अभियानसँगको कुराकानीमा चैतको अन्तिम साताअघि नै प्रतिवेदन पेश गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘संवैधानिक प्रावधानअनुसार आफ्नो क्षेत्राधिकारभित्र रही लेखापरीक्षण पूरा गरिसकेका छौं, अहिले ड्राफ्ट गर्ने काम भइरहेको छ, यही महीनाको अन्तिम साताभित्रै प्रतिवेदन बुझाउँछौं ।’ देश सङ्घीयतामा प्रवेश गरेपछिको नयाँ संरचनाअनुसारका नगर/गाउँपालिकासहित साविकका गाविसलाई पनि वार्षिक प्रतिवेदनले समेट्ने स्रोतले बताएको छ । त्यसैले महालेखाले अहिले बुझाउन लागेको प्रतिवेदनलाई अति महत्त्वका साथ हेरिएको छ । निर्देशक पराजुलीका अनुसार तीन चरणमा परीक्षकहरू खटाएर लेखापरीक्षण गरिएको थियो । सङ्घीय संरचनाअनुरूप सरकारले थपेका गाउँपालिका तथा नगरपालिकाहरूको समेतको लेखापरीक्षण गर्दा यसपालि सङ्ख्यात्मक रूपमा परीक्षण गर्नुपर्ने सङ्ख्या बढेको छ । संविधानको धारा २४१ बमोजिम सरकारी तथा सार्वजनिक संस्थाहरूको लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्दै आएको छ । संविधानमा सङ्घीय र प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय, स्थानीय तह तथा कानूनद्वारा तोकिएका अन्य संस्थाको समयमै लेखापरीक्षण गर्ने अधिकार उक्त कार्यालयलाई दिइएको छ । लेखापरीक्षण गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी गर्ने गरिएको पराजुलीको भनाइ छ । उनका अनुसार लेखापरीक्षण गर्दा लेखापरीक्षण ऐन २०४८ लाई समेत ध्यानमा राखेर गर्ने गरिन्छ । स्रोतका अनुसार बजेट व्यवस्थापनमा यसपालि पनि अघिल्ला वर्षहरूमा जस्तै समस्या दोहोरिएको पाइएको छ । स्रोतले कानूनको अवज्ञा गरी रकमान्तर गर्ने परिपाटी बढ्नु र आर्थिक वर्षको अन्त्यमा खर्चको मात्रा बढ्ने क्रम नरोकिनु अझै ठूलो समस्याका रूपमा रहेको बताएको छ । बजेटको महत्त्वपूर्ण अंश ओगट्ने अनुदानको अनुगमन नहुनु र पूँजीगत खर्च अपेक्षाअनुरूप बढाउन चासो नदिनुजस्ता समस्या पनि अझै रहेको पनि बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)