ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘संस्थागत र नीतिगत सुधार आवश्यक’ : ऋणपत्रविना पूँजीबजार अपूरो

Apr 1, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीबजारमार्फत ठूलो परिमाणको स्वलगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता भएको औंल्याएका छन् । देशको वर्तमान आर्थिक स्थितिसम्बन्धमा शुक्रवार श्वेतपत्र सार्वजनिक गर्दै उनले यस्तो आवश्यकता औंल्याएका हुन् । उनले ऋणपत्र बजारको अभावमा पूँजीबजारको विकास गर्न नसकिएको टिप्पणीसमेत गरे । पूँजीबजारलाई उचाइँमा पुर्‍याउन ऋणपत्र बजार जरुरी भएको उनको आशय थियो । पछिल्लो समय लगानीकर्ताले अपेक्षा गरेभन्दा नेप्से धेरै नै ओरालो लागेको बेला अर्थमन्त्रीको यस्तो धारणा आएको हो । लगानीकर्ताहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई शेयरबजारलाई प्रभावित पार्ने हावादारी प्रचारप्रसार नगर्न र नसुन्नसमेत अनुरोध गर्दै आएका थिए । उक्त यथार्थलाई श्वेतपत्रले समेत स्वीकार गरेको छ । श्वेतपत्रका अनुसार पूँजीबजारको कारोबारमा यथार्थ सूचना सम्प्रेषणको अभाव र पारदर्शिताको कमी छ । यसका साथै लगानीकर्ता तथा साना लगानीकर्ताहरूमा शेयर लगानीसम्बन्धी ज्ञानको कमीलगायतले समेत शेयर मूल्य मापन गर्ने नेप्से सूचकाङ्कमा उच्च तहको उतारचढाव आउने गरेको अर्थमन्त्री डा. खतिवडाको भनाइ छ । अर्थतन्त्रमा साधन परिचालन गर्न पूँजीबजार सशक्त माध्यम भए तापनि हाल धितोपत्रमा मात्र सीमित रहेको उनले बताए । विगत करीब ५ महीनादेखि पूँजीबजार ओरालो लाग्नुको अर्को कारण सरकारको पूँजीगत खर्चको आकार कम हुनु र समयमा नखर्चिनु पनि भएको सरोकारवालाले टिप्पणी गर्दैआएका थिए । ‘सरकारको कुल खर्च बढेको तुलनामा पूँजीगत खर्चको आकार सानो रहेको छ । विगत ५ वर्षमा कुल बजेटमध्ये ६४ प्रतिशतभन्दा बढी चालू र २१ प्रतिशत मात्र पूँजीगत बजेट रहने गरेकोमा चालूतर्पm सम्पूर्ण खर्च हुने तर पूँजीगततर्फको बजेट ७२ प्रतिशतसम्म मात्र खर्च हुने भएको छ,’ श्वेतपत्रमा उल्लेख छ । पूँजीबजारमा हाल सूचीकृत २ सय ८ कम्पनीमध्ये ७५ प्रतिशत वित्तीय क्षेत्रका कम्पनी रहेका छन् । कुल कारोबारमा वित्तीय संस्थाहरूको कारोबारको अंश ८१ प्रतिशत, जलविद्युत् क्षेत्रको ५ प्रतिशत, उद्योगको ३ प्रतिशत र होटलको २ प्रतिशत मात्रै रहेको श्वेतपत्रमा उल्लेख छ । ‘यसले पूँजीबजारमा उत्पादन क्षेत्रका कम्पनीको उपस्थिति ज्यादै न्यून रहेको तथ्य उजागर गर्छ,’ श्वेतपत्रमा उल्लेख छ । श्वेतपत्र जारीपछि लगानीकर्ता के भन्छन् ? घटिरहेको बजारमा शुक्रवार सार्वजनिक भएको श्वेतपत्रले लगानीकर्ताको मनोबल बढाएको छ । तर समेट्नुपर्ने कतिपय विषय अझै नसमेटिएको उनीहरूको गुनासो छ । श्वेतपत्र जारीपछि लगानीकर्ताले सामाजिक सञ्जालमा बजारप्रति आआफ्नो धारणा व्यक्त गरेका छन् । श्वेतपत्रले पूँजीबजारमा संस्थागत र नीतिगत सुधारको आवश्यकता औंल्याएको छ । नेपाल इन्भेष्टर्स फोरम, शेयरलगानीकर्ता सङ्घलगायतले लामो समयदेखि गरेका मागहरूलाई अर्थमन्त्रीले सकारात्मक रूपमा लिएको बताएको छ । सरकारले आगामी बजेटमार्फत लगानीकर्ताहरूका माग ठोस रूपमा सम्बोधन गर्ने लगानीकर्ताको अपेक्षा छ । नेपाल स्टक एक्सचेञ्जको पुनर्संरचना, नयाँ स्टक एक्सचेञ्जको स्थापना, गैरआवासीय नेपाली र विदेशी संस्थागत लगानीकर्ताहरूलाई भिœयाउन ऐन कानूनको तर्जुमा, अनलाइन कारोबारजस्ता महत्त्वपूर्ण काममा सरकारको ध्यान केन्द्रित हुने तथा आगामी दिनमा बजार बढ्ने लगानीकर्ताहरूले विश्वास व्यक्त गरेका छन् । शेयरबजार विश्लेषक राजु पौड्यालका अनुसार बजारमा छोटो समयमा नाफा कमाउँछु भन्ने लगानीकर्ताहरूले अर्थमन्त्रीलाई नकारात्मक लिए पनि दीर्घकालीन लगानी गर्नेहरूको वास्तविकतालाई भने श्वेतपत्रले सम्बोधन गरेको छ । ‘छोटो समयमा नाफा कमाउने उद्देश्यले बजारमा प्रवेश गरेका लगानीकर्ता ११ सय विन्दुबाट बजार एकैपटक १८ सय विन्दुमा पुगोस् भन्ने चाहन्छन् । अर्कातिर साना लगानीकर्तामा बजारबारे उचित ज्ञान नभएकाले बजारलाई हल्का रूपमा लिन्छन्, उनले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)