ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरक्षा र नाफाको ग्यारेण्टी सरकारले दिन्छः मुख्यमन्त्री शाही

Apr 1, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

चैत १७, सुर्खेत । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीकर्तालाई निश्चित अवधिसम्म कर नलगाउने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाले आईतवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णाली प्रदेशको समृद्धिका लागि जलविद्युत’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मूख्यमन्त्री शाहीले लगानीकर्ताको लगानी नउठुन्जेलसम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति बनाउने बताए ।

‘तपाईहरु कर्णाली प्रदेशभित्र ढुक्कसँग लगानी गर्नुहोस्,’ उनले भने, ‘लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी प्रदेश सरकारले दिन्छ ।’ ठूलो स्तरको लगानी बिना विकास असम्भव भएको भन्दै उनले लगानी मैत्री वातावरण बनाइने प्रतिवद्धता व्यक्त गरे । ‘कर्णाली प्रदेश जलविद्युत विकासको हिसाबले सबैभन्दा राम्रो सम्भावना बोकेको क्षेत्र हो,’ उनले भने, ‘जलविद्युत क्षेत्रमा सामूहिक ढङ्गले ठूलो स्तरको लगानी आवश्यक रहेकाले हामी निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्छौँ ।’ उनले विकासका लागि निजी लगानी मैत्री वातावरण सृजना नगरीकन देश बन्न नसक्ने जिकिर गरे । लगानीका लागि प्रदेश सरकारले राष्ट्रिय लगानीकर्ताहरुलाई प्राथमिकता दिने बताउँदै मुख्यमन्त्री शाहीले विदेशी लगानीलाई राष्ट्रिय लगानीकर्तासँगको सहकार्यमा स्वीकार गर्ने नीति बनाईने स्पष्ट पारे ।

‘माथिबाट आउँछ भनेर पर्खने प्रवृतिले विकास हुँदैन,’ उनले भने, ‘अब प्रदेशको समृद्धिका लागि हामी आफैँ जुट्नु पर्छ ।’ उनले अरुको मुख ताक्ने प्रवृतिले कर्णाली गरीब हुनुपरेको जिकिर गरे । संविधानले अहिले दिएको अधिकारले कर्णालीको विकास नहुने भन्दै उनले कर्णाली स्वायत्त प्रदेश हुनुपर्ने माग राखे । कर्णालीको समस्या विशिष्ट प्रकृतिको रहेकोले अहिलेको अधिकार विकासका लागि अपर्याप्त भएको उनको भनाइ छ । उनले कर्णाली प्रदेशलाई केन्द्र सरकारले विशेष अधिकार दिनुपर्ने बताए । उनका अनुसार केन्द्र सरकारले कर्णाली प्रदेशको लागि आवश्यक पूँजी जुटाउन प्रदेशलाई नै अधिकार दिनुपर्छ ।

‘आवश्यक प्रारम्भीक पूँजी जुटाउन कर्णालीलाई विशेष अधिकार दिए ५ वर्षभित्र केन्द्रलाई पैसा फिर्ता गर्ने सामथ्र्य राख्छौँ,’ उनले भने । अहिले लगानीकर्ताहरु नेपालमा लगानी गर्न उत्सुक नभएको भन्दै मूख्यमन्त्री शाहीले नेपालमा उत्पादित सामग्रीलाई प्राथमिकता दिएर खपत गर्नुपर्ने बताए । उनले नेपाली उत्पादनलाई नेपाल सरकारले नै हतोत्साहित गरेको भन्दै यसमा हुने चलखेललाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीले अन्य प्रदेशभन्दा कर्णाली प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई सहज हुनेमा आफू विश्वस्त रहेको बताए । नाम र राजधानी तोक्न पहिलो हुनुले पनि कर्णाली प्रदेशमा लगानीका लागि राजनीतिक वातावरण अनुकुल रहेको पुष्टी हुने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्थाका निवर्तमान अध्यक्ष खड्गबहादुर विष्ट लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)