चैत १५, वीरेन्द्रनगर । गाउँका कैयौं युवा पैसा कमाउन भन्दै विदेश जाने लहड चलिरहँदा सुर्खेतको वीरेन्द्रनगर–१४ गढीका टेकराज चालिसेले शुरु गरेको व्यावसायिक पशुपालनबाट अहिले वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्ने गर्छन् ।
गाउँका केही साथीहरु विदेश पलायन हुँदै गर्दा २ वर्ष अगाडि स्वदेशमै बस्ने र व्यावसायिक पशुपालन गर्ने सोच बनाए । अहिले दुध दिने २ ओटा भैंसी र एउटा गाईको गरी दैनिक २१ लिटर दुध बेच्ने गरेको बताउँदै चालिसे भन्छन्, ‘मेरो घरमा ६ जनाको परिवार छ, सबै घरखर्च कटाएर मेरो वर्षमा २ लाख रुपैयाँ बचत हुन्छ ।’ केही दुध गाउँमै बेचेर बाँकी रहेको दुध नजिकैको डेरीमा लगेर बेच्ने गरेको उनी बताउँछन् ।
उनले पशुपालनसँगै गाउँमै किराना पसल समेत सञ्चालन गरेका छन् । पसलबाट पनि राम्रै नाफा हुने र सबै परिवार मिलेर दुबै व्यवसाय राम्रोसँग सञ्चालन भइरहेको उनले बताए । गरिबी निवारण कोषको सहयोगमा स्थानीय विकास कोष सुर्खेतले गाउँमा सञ्चालन गरेको घुम्ती कोष जरेपानी सामुदायिक संस्थाका अध्यक्ष समेत रहेका चालिसेले समूहबाट ४० हजार रुपैयाँ ऋण लिएका छन् । समूहमा बसेपछि आफूले व्यावसायिक पशुपालन व्यवसाय शुरु गरेको उनले बताए ।
चालिसे गाउँमै सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्न सफल भएका छन् । मेहेनत गर्ने हो भने स्वदेशमै पैसा कमाउन सकिने थुप्रै अवसर रहेको उनको भनाइ छ । परिवारको साथमा रहेर आफ्नो व्यवसायबाट खुसी र सन्तुष्ट रहेका चालिसे भन्छन्, ‘विदेशमा पैसा धेरै होला, तर परिवार छैन ।’