चैत २५, काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेका परशुराम भन्ने कृष्ण बस्नेत र अञ्जु सिंह बस्नेतलाई आइतवार विशेष अदालतले सफाई दिएको छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय रत्नबहादुर बागचन्द र नारायण प्रसाद पोखरेलको इजलासले उनीहरुविरुद्ध लागेको आरोप पुष्टि हुन नसकेको उल्लेख गर्दै बस्नेतद्वयलाई सफाई दिएको हो । सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाई कृष्ण र अञ्जुविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ ३७ पैसा बिगो कायम गरी २०७० साल जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विभागले ती प्रतिवादीहरुले ९ करोड ५० लाख ६६ हजार २ सय ८३ रुपैयाँ ९३ पैसा बैङ्कमार्फत कारोबार गरेको र बाँकी २ करोड १० लाख ७ सय ५६ रुपैयाँ ४४ पैसा नगद बरामद भएको उल्लेख गर्दै मुद्दा दायर गरेको हो । विभागले ती सबै रकमको स्रोत नखुलेको उल्लेख गर्दै अभियोगपत्र दायर गरेको थियो ।
सो रकम दोलखाबाट मोरङ पठाउन कारोबार गरेको देखिएको विभागले उल्लेख गरेको थियो । विशेष अदालतले सो रकमको स्रोत देखिएको उल्लेख गर्दै माग दाबी पुग्न नसकेको जनाई उनीहरुलाई सफाई दिएको हो । प्रतिवादी ती दुई श्रीमान श्रीमती हुन् ।