ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनाइटेड इन्स्योरेन्सको अग्नि बीमा कारोबारमा रोक

Apr 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा समितिले युनाइटेड इन्स्योरेन्स कम्पनीलाई अग्निबीमा कारोबारमा रोक लगाएको छ । चौधरी ग्रूपको एक गोदाममा भएको आगलागीमा युनाइटेडले वास्तविक क्षतिभन्दा बढी दाबी भुक्तानी दिएको भन्दै समितिले रोक लगाएको हो । समितिका उपनिर्देशक साम्बराज लामिछानेले युनाइटेडको बीमक संस्थागत सुशासनको अवस्था चित्तबुभ्mदो नदेखिएपछि अग्निबीमा कारोबारमा रोक लगाएको बताए । गत चैत १२ गते पाटन उच्च अदालतले सीजीको दाबी किर्ते भएको प्रमाणित गर्दै समितिलाई युनाइटेडको २४ करोड रकम फिर्ता लिन निर्देशन दिएको थियो । उक्त निर्देशन कार्यान्वयन गर्दै शुक्रवार युनाइटेडलाई अग्निबीमा कारोबार रोक्न पत्र पठाएको समितिले बताएको छ । अदालतको निर्देशनअनुसार युनाइटेडले चौधरी ग्रूपबाट बढी भुक्तानी भएको रकम फिर्ता लिनुपर्ने समितिको भनाइ छ । यद्यपि उच्च अदालतको आदेशविरुद्ध युनाइटेडले सर्वोच्चमा हालेको मुद्दा भने अझै विचाराधीन छ । समितिले यसअघि २०७१ सालमा सोही विषयमा युनाइटेडलाई अग्निबीमा कारोबारमा रोक लगाएको थियो । तत्कालीन पुनरावेदन अदालतले समितिविरुद्धको उजुरीलाई सदर गर्दै युनाइटेडलाई अग्निबीमा कारोबार गर्न अन्तरकालीन आदेश दिएको थियो । यद्यपि अदालतले उक्त आदेशमार्फत युनाइटेडलाई बीमक संस्थागत सुशासन सुधार गर्न निर्देशन पनि दिएको समितिले बताएको छ । समितिका उपनिर्देशक लामिछानेले अदालतको निर्देशनअनुसार युनाइटेडले बीमक संस्थागत सुशासन नसुधारेको बताए । उनले भने, ‘उच्च अदालतको निर्देशन र बीमक संस्थागत सुशासनमा सुधार नदेखिएपछि अग्निबीमा कारोबारमा रोक लगाउन बाध्य भएका हौं ।’ उनले संस्थागत सुशासन चित्तबुझ्दो नभएसम्म युनाइटेडलाई अग्निबीमा कारोबारमा रोक लगाइने बताए । यस्तै, अदालतको निर्देशन कार्यान्वयन भएसँगै दुई सर्वेयर र सम्बन्धित अण्डराइटरलाई पनि ३/३ हजार जरीवाना हुने भएको छ । साथै, सम्बन्धित अभिकर्ताको लाइसेन्स पनि खारेज हुने समितिले बताएको छ । बीमा ऐन, २०४९ को दफा १२ को उपदफा ‘क’अनुसार समितिले बीमकले गर्दै आएको बीमा व्यवसायअन्तर्गतको कुनै पनि किसिमको कारोबारलाई पूर्ण वा आंशिक रूपमा रोक लगाउन सक्नेछ । यदि कुनै बीमा व्यवसायमा रोक लगाइएमा बीमकले यस्तो अवस्था विद्यमान नरहने भनी समितिमा प्रमाण पेश गर्नुपर्ने हुन्छ । बीमकले पेश गरेको प्रमाण सन्तोषजनक देखिएमा समितिले तोकिएअनुसारको जरीवाना गरी उक्त रोक फुकुवा गर्न सकिने व्यवस्था ऐनमा रहेको छ । यस्ता समस्या विगतमा एभरेष्ट इन्स्योरेन्स, लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले पनि भोग्नुपरेको थियो । केही वर्षअगाडि मायोजको फ्याक्ट्रीमा आगलागी हुँदा सर्वेयरको प्रतिवेदनविना नै एभरेष्ट इन्स्योरेन्सले ४ करोड दाबी भुक्तानी गरेको थियो । सोही विषयमा एभरेष्टलाई पनि अग्निबीमा कारोबारमा रोक लगाइएको थियो । एभरेष्ट इन्स्योरेन्स र मायोज दुवैमा एउटै समूहको प्रत्यक्ष लगानी थियो । २०६९ साल असोजमा सतुङ्गलमा रहेको चौधरी ग्रूपको एक गोदाममा विद्युत् सर्ट भई आगलागी भएको थियो । सीजीले उक्त आगलागीमार्फत ८४ करोडको क्षति भएको दाबी गरेको थियो । यद्यपि सर्वेयर र अण्डराइटरले भने ५८ करोड क्षति भएको प्रतिवेदन तयार पारेका थिए । उक्त घटनामा ५८ करोड पनि क्षति नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीको आधारमा अख्तियारले समितिलाई छानविन गर्न निर्देशन दिएको थियो । समितिको छानविन टोलीले भने उक्त आगलागीमा ३४ करोड मात्र क्षति भएको प्रतिवेदन निकाल्यो । अदालतले समितिको सोही प्रतिवेदनलाई सदर गर्दै चैत १२ गते सीजीको दाबी किर्ते भएको फैसला गरेको थियो । युनाइटेडले उच्च अदालतको निर्देशनले पुनः अग्निबीमा कारोबार रोकिने भएपछि गत चैत १८ गते सर्वाेच्चमा मुद्दा हालेको थियो । कम्पनीले उच्च अदालत र समितिको निर्देशनविरुद्ध सर्वोच्चमा मुद्दा हाले पनि अन्ततः अग्निबीमा कारोबारमा रोक लागेको छ । कम्पनीले बीमा ऐनअनुसार समितिमा प्रमाण पेश गरी तोकेको जरीवाना बुझाएमा पुनः अग्निबीमा कारोबार सञ्चालन गर्न सक्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)