ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हाइड्रो भिलेज नारच्याङमा १५७ मेगावाटका ५ जलविद्युत अयोजना निर्माणाधिन

Apr 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

वैशाख ४, म्याग्दी । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङमा १ सय ५७ मेगावाटका ५ ओटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।

म्याग्दीको सदरमुकाम बेनीदेखि चारघण्टाको सवारीयात्रापछि पुगिने नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र ३८ मेगावाटको नीलगिरिखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । त्यस्तै, ६२ मेगावाटको नीलगिरि क्यास्केट र १० मेगावाटको रेलेखोला आयोजनाले पनि वातावरणीय मूल्याङ्कको चरण पार गरेर निर्माणको अवस्थामा प्रवेश गरेका छन् ।

त्यसैगरी म्याग्दीका उद्योगी, व्यापारी र प्रवासीको पहलमा २०७१ सालदेखि निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको छ । १ हजार ६ सय ९७ मिटर सुरुङ निर्माण गरेको घलेम्दीले आगामी चैतभित्र विद्युत् उत्पादन शुरु गर्ने तयारी गरेको छ । ३८ करोड ५० लाख रुपैयाँ संस्थापक सेयर रहेको आयोजनामा लुम्बिनी र टुरिजम डेभलपमेण्ट बैङ्कले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । ‘अहिले सुरुङमार्गमा फिनिसिङको काम भइरहेको छ भने विद्युतगृह निर्माणलाई तीव्र बनाएका छौँ, कुनै समस्या आएन भने सात महीनाभित्र हामीले विद्युत् उत्पादन गर्नेछौँ’, घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताए ।

त्यसैगरी रोबस्ट इनर्जी लिमिटेडले निर्माण गरिरहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी हाई हिमाल हाइड्रो कन्ट्रक्सनले बाँध, सुरुङ र विद्युतगृहको निर्माण कार्य एकै साथ अघि बढाएको छ । ‘निर्माण शुरु गरेको १३ महीनाभित्र ३० प्रतिशत काम सम्पन्न भइसकेको ठेकेदार कम्पनिको भनाइ छ । ‘सुरुङमार्गमा सबैभन्दा बढी प्रगति भएको छ’, आयोजनाका परामर्शदाता हाइड्रो कन्सल्टेण्ट इन्जिनियरिङका आवासीय इन्जिनियर दिवाकर खड्का भन्छन्, ‘२३ सय मिटर सुरुङमार्गमध्ये एक हजार मिटर खनिसकिएको छ । आयोजनाको अण्डरग्राउण्ड बाँध हुनेछ । त्यसका लागि एक सय १५ मिटर लामो दुईओटा पोखरी बनाउने काम पनि सकिएको छ ।’

करीब ६ अर्ब रुपैयाँ लागत लाग्ने आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी र नबिल बैङ्कले १/१ अर्ब रुपैयाँ लगानी गरेका छन् भने नबिलकै अगुवाइमा अन्य पाँचओटा बैङ्कले दुई अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । आयोजनाले २०७५ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । ३८ मेगावाट निलगिरिले सडक निर्माणको कामलाई तीव्र बनाएको छ । मिस्त्रीको बाँधस्थल, घलेम्दीको विद्युतगृह हुँदै अघि बढ्ने निलगिरिले करीब २० किलोमिटर सडकको ट्रयाक खोल्ने जनाएको छ ।

सरकारले सन् २०११ मा ‘पर्यटकीय गाउँ’ घोषणा गरेको नारच्याङलाई हाल आएर स्थानीय र सरोकारवालाहरुले ‘हाइड्रो भिलेज’नामाकरण गरेका छन् । एउटै गाउँमा यतिधेरै जलविद्युत् आयोजना निर्माण हुन थालेपछि यो गाउँ ‘हाइड्रो भिलेज’मा परिणत भएको छ ।

गाउँपालिकाको पारित गर्‍यो जलविद्युतमैत्री नीति नारच्याङमा जलविद्युत आयोजनाको आकर्षणदेखेर अन्नपूर्ण गाउँपालिकाले गाउँसभामार्फत जलविद्युतमैत्री नीति पारित गरेको छ ।

नारच्याङमा निर्माणाधीन र निर्माण प्रक्रियामा रहेका आयोजनाका साथै गाउँपालिकाअन्तर्गत निर्माण हुने ११ मेगावाटको घारखोला, १ सय ६५ मेगावाटको कालीगण्डकी गर्ज, ६५ मेगावाटको अपर कालीगण्डकी आयोजनालाई समयमै सम्पन्न गर्ने वातावरण सिर्जनाका लागि गाउँपालिकाले यस्तो नीति पारित गरेको बताइएको छ ।

‘यहाँ थुप्रै जलविद्युत् आयोजना बन्ने क्रममा छन् भने थुप्रै लाइसेन्स लिएर बसेका छन्, सबैलाई समयमै सम्पन्न गर्न बाह्य वातावरण सिर्जना गर्न हामीले यस्तो नीति लिएका छौँ’, गाउँपालिका प्रमुख क्या. डमबहादुर पुन भन्छन्, ‘आयोजनामा आइपर्ने समस्या हल गर्न गाउँपालिका तयार छ तर, आयोजना समयमै सम्पन्न हुनुपर्‍यो ।’ गाउँपालिकाले ‘उज्यालो घर, अन्नपूर्णको भर’ नारा लिएर ती आयोजनामा संस्थागत रूपमा लगानीसमेत गर्ने योजना बनाइएको प्रमुख पुनको भनाइ छ । ‘यो विषयमा आयोजनासँग बसेर बृहत् छलफल गर्दछौँ, केही बजेट हामीले लगानी गर्ने योजनाका साथ राखेका छौँ’, प्रमुख पुनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)