काठमाडौं । नेपालमा जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा हुन थाले पनि यसको सुरक्षा तथा भइपरी आउने क्षतिबाट बच्न आवश्यक पूर्वतयारीमा संवेदनशीलता भने देखिँदैन । क्षतिपूर्तिका लागि भनेर अनिवार्य गरिएको बीमाको अभ्यास केवल प्रक्रिया पु¥याउन मात्र भइरहेको शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताए ।
प्रत्येक आयोजनाको कुनै न कुनै हिसाबले अलग विशेषता हुने हुँदा सबैको सम्भावित खतराका पक्ष पनि फरक–फरक हुन्छन् । सोहीअनुसार प्रत्येक आयोजनाको बीमा पोलिसी पनि फरक हुने अन्तरराष्ट्रिय अभ्यास रहेको छ । तर, नेपालमा जलविद्युत् आयोजना विकासका सन्दर्भमा बीमा गर्नु भनेको सुरक्षाको लागि भन्दा पनि बैङ्कबाट ऋण लिन र विद्यत् खरीद सम्झौता (पीपीए) गर्दा आवश्यक कागजात जुटाउन मात्रै भन्ने बुझाइ रहेको हिमालयन जेनेरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्य बताउँछन् । ‘जलविद्युत् आयोजनाहरू निर्माण र सञ्चालनको चरणको बीमालाई समेत अलग–अलग गरी हेर्नु आवश्यक छ,’ उनी भन्छन्, ‘तर प्रवद्र्धकहरू एउटैमा सबै पर्नुपर्ने मागसहित विभिन्न बीमा कम्पनीको कोटेशन लिएर सस्तोमा बीमा गरिदिन आग्रह गर्न आउने गर्नुहुन्छ ।’
आयोजना विकासको चरणका लागि निर्माण सामग्री ड्यामेज, तेस्रो पक्षको जिम्मेवारी तथा सञ्चालनमा आइसकेपछि संरचना, उपकरणलगायतका बीमा गर्नुपर्ने उनको भनाइ छ ।
अमेरिकी लगानीकर्ताको अधिकतम लगानीमा बनेको भोटेकोशी जलविद्युत् आयोजना भूकम्प, पहिरो तथा हिमताल विस्फोट जस्ता प्रकोपको मारमा परेको आयोजना हो । तर पनि विशिष्टीकृत रूपमा बीमा गरिएका कारण क्षतिपूर्तिमा राम्रो टेवा पुगेको तत्कालीन समयमा उक्त आयोजनाको व्यवस्थापन सम्हालेका नरेन्द्र प्रजापति बताउँछन् । आयोजनाको बीमाले व्यवसायीलाई क्षतिपूर्तिमा सानोदेखि ठूलो–ठूलो राहत मिल्ने इन्स्योरेन्स ब्रोकिङ तथा क्षति व्यवस्थापनमा अन्तरराष्ट्रिय रूपमा काम गर्दै आएको संस्था मार्श कन्ष्ट्रक्सनका प्रबन्ध निर्देशक स्कट पीची बताउँछन् । ‘पानी, ढुङ्गामाटो जस्ता जोखीममा रहेर गर्नुपर्ने व्यवसाय भएकाले कुन समयमा के विपद् आइपर्छ भन्न सकिँदैन,’ उनी भन्छन्, ‘त्यसैले आफ्नो आयोजनाको प्रकृति र सम्भाव्य जोखीम हेरेर बीमा गर्नु लाभदायक हुन्छ ।’
उनको कम्पनीले ऊर्जा उत्पादनका अन्य क्षेत्र थर्मल, सोलार तथा वायु ऊर्जाको बीमामा पनि सघाउँदै आएको छ । अन्य प्रकृतिका आयोजना भौगोलिक रूपमा कम जोखीम हुने ठाउँमा हुने भएकाले जोखीम मूल्याङ्कन सजिलो र लगभग अनुमान गर्न सकिने हुने उनको भनाइ छ । त्यसैले तिनमा बीमाको पोलिसी लगभग हरेक आयोजनामा उस्तै हुने भए पनि जलविद्युत्को सन्दर्भमा लगभग प्रत्येकको फरकफरक हुने उनी बताउँछन् । पहुँच मार्ग तथा सुरुङ जलविद्युत् आयोजनाका सबैभन्दा संवेदनशील पक्ष भएको पीचीको भनाइ छ ।
त्यसैगरी, पछिल्लो भूकम्पपछि जति अपार्टमेण्ट व्यवसायी बीमाको आवश्यकताका सम्बन्धमा सचेत भए त्यति जलविद्युत् व्यवसायीहरू नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का कार्यकारी सदस्य आशिष गर्ग बताउँछन् । भोटेकोशी, सुनकोशीलगायत केही सीमित आयोजनामा मात्रै भूकम्पको असर परेका कारण पनि अझै बीमाको आवश्यकताका सम्बन्धमा यस क्षेत्रका लगानीकर्ताको आँखा नखुलेको उनको धारणा छ । ‘बीमा गर्दा पनि निर्माण गरिने संरचना तथा उपकरणको मात्रै गर्ने अभ्यास छ,’ उनले भने, ‘सबैभन्दा धेरै लागत पर्ने आयोजनाको ढिलाइका कारण हुने नाफाको नोक्सानी (लस अफ प्रोफिट)को बीमा गर्ने चलन नै छैन ।’ लस अफ प्रोफिटको बीमा गराउँदा रेभेन्यूको करीब ९० प्रतिशतसम्म प्राप्त गर्न सकिने भएकाले प्रवद्र्धक ठूलो नोक्सानीबाट बच्ने अनुभव उनले सुनाए ।
प्रवर्द्धकहरूलाई बीमा गर्नु अगाडि केको लागि बीमा गर्दै छु र त्यसले कस्तो कस्तो जोखीमको क्षतिपूर्तिमा सहयोग पुर्याउँछ, हेर्न हिमालयन जेनेरल इन्स्योसेन्सका प्रमुख कार्यकारी अधिकृत वज्राचार्यको सुझाव छ । यदि प्रवद्र्धकहरू अन्तरराष्ट्रिय अभ्यासअनुसारको बीमाको माग गर्न आए सहजीकरण गर्नसक्ने उनी बताउँछन् । बाढीपहिरो जस्ता जोखीम धेरै रहेको हाम्रो जस्तो भूगोलको जलविद्युत्को बीमा गर्न विदेशी बीमाकर्ताहरू होशियार हुने गरेको उनले बताए । तर पनि प्रिमियम राम्रो हुने हो भने अन्तरराष्ट्रिय बीमा कम्पनीहरू पनि पुनर्बीमा गर्न आकर्षित हुने उनी बताउँछन् ।