ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्णय भइसकेको हकप्रद वितरणमा जोड

Apr 24, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । वार्षिक साधारणसभाबाट हकप्रद शेयर जारी गर्ने निर्णय गरेपछि कम्पनीहरूले अनिवार्य वितरण गर्नुपर्नेमा लगानीकर्ताहरूले जोड दिएका छन् । सोमवार सम्पन्न एभरेष्ट इन्स्योरेन्सको २३औं वार्षिक साधारणसभामा बोल्ने अधिकांश सदस्यले धितोपत्र बाँडफाँट निर्देशिकामा भएको व्यवस्थाअनुसार लागू गर्न जोड दिएका हुन् । बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा सङ्गठित संस्थाले साधारणसभाबाट हकप्रद शेयरको निष्काशन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक शेयर स्वामित्व कायम गर्न गतवर्ष सम्पन्न वार्षिक साधारणसभाबाट पारित ६ सय प्रतिशत हकप्रद शेयर परिमार्जन गर्ने प्रस्तावसहित सोमवार वार्षिक साधारणसभा बोलाएको थियो । सभामा गतवर्षको नाफाबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र रू. ६ लाख ३९ हजार ४ सय ७४ बराबरको कर प्रयोजनार्थ नगद लाभांशको प्रस्ताव पेश गरेको थियो । साथै, बोनसपछि कायम चुक्तापूँजीको आधारमा संस्थापक स्वामित्व कायम हुने गरी सर्वसाधारण सदस्यहरूका लागि १ सय ५ प्रतिशत हकप्रद शेयर र सोपश्चात् कायम चुक्तापूँजीको ३ सय प्रतिशत संस्थापक र सर्वसाधारण दुवैका लागि हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको थियो । कम्पनीले पेश गरेको अन्य प्रस्ताव पारितका लागि सदस्यहरू तयार भए पनि गतवर्ष नै पारित गरिएको ६ सय प्रतिशत हकप्रद परिमार्जन गर्न नहुने भन्दै विरोध गरेका थिए । सदस्य अमृतनाथ रेग्मीले सर्वसाधारणलाई संस्थापक बनाउने व्यवस्था कुनै पनि ऐन कानूनमा नभएको भन्दै यसमा पुनर्विचार गर्न अनुरोध गरेका थिए । उनले विकल्पमा ‘ख’ वर्गको संस्थापक शेयर भनेर पारित गर्नसमेत भनेका थिए । सदस्य डमरुवल्लभ घिमिरेले ६ सय प्रतिशत हकप्रदकै लागि महँगोका शेयर खरीद गर्ने सदस्यहरू मारमा पर्ने भन्दै सदस्यहरूको हितलाई ध्यान दिई निर्णय भएको हकप्रद अनिवार्य रूपमा जारी गर्न भनेका थिए । त्यस्तै, सदस्य शिवप्रसाद पौडेलले नियामक निकाय नेपाल धितोपत्र बोर्डले जारी गरेको निर्देशिकालाई बेवास्ता गरेको आरोप लगाएका थिए । सदस्यहरूको चर्को आलोचना तथा पूर्र्वस्वीकृत प्रस्तावलाई लागू गर्न गरेको आग्रहलाई कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सदस्यहरूको हितका लागि गतवर्ष पारित प्रस्तावलाई परिमार्जन नगर्न धेरै प्रयास गरेको भन्दै बीमा समितिको निर्देशन पालना गर्नै पर्ने अवस्थामा पुगेको प्रतिक्रिया दिए । सदस्यहरूको गुनासोलाई प्रष्ट पार्दै गौतमले सर्वसाधारणलाई संस्थापक बनाउन लागेको हैन, सर्वसाधारणलाई पनि संस्थापक शेयर हकप्रदमार्फत वितरण गर्न लागेको जानकारी दिएका थिए । यसमा सर्वसाधारण सदस्यहरूको इच्छाअनुसार खरीद गर्न सक्ने समेत उनले प्रष्ट पारेका छन् । साना लगानीकर्ताले खरीद गरेको संस्थापक शेयर विक्री गर्न सकिने व्यवस्थाको पहल गर्ने प्रतिबद्धता कम्पनीले सभामार्फत गरेकाले सदस्यहरूले बाध्य भएर ६ सय प्रतिशत हकप्रद परिमार्जनको प्रस्ताव पारित गरेको बताएका छन् । सदस्य भीमबहादुर क्षत्रीले कम्पनीले गरेको प्रतिबद्धता व्यवहारमा नउतारे सदस्यहरू कानूनको सहारा लिन बाध्य हुने बताए । काठमाडौंको अग्रवाल भवन, कमलपोखरीमा सम्पन्न सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकहरू निर्वाचितसमेत गरेको छ, जसमा राजीव सापकोटा, भूबल राई, हेमराज थापा, रामप्रसाद खनाल र एञ्जिला विष्ट गिरी छन् । बीमा समितिले चालू आर्थिक वर्षभित्र निर्जीवन बीमा कम्पनीलाई रू. १ अर्ब चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएपछि पूँजी वृद्धिका लागि एभरेष्टले ६ सय प्रतिशत हकप्रदको सहारा लिएको थियो । हाल सर्वसाधारणको मात्र शेयर स्वामित्व रहेको एभरेष्टलाई पहिला ५१ प्रतिशत संस्थापक कायम गर्न समितिले निर्देशन दिएपछि प्रक्रियामा गइसकेको ६ सय प्रतिशत हकप्रद शेयरलाई परिमार्जन गरेको हो । एभरेष्टले यसअघि भदौ २३ गते ६ सय प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)