ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘कनेक्सन’ तोड्न अर्थमा व्यापक हेरफेर

Apr 27, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं र्द्ध अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमातहतका निकायमा हुने भ्रष्टाचार, अनियमितताको ‘कनेक्सन’ तोड्न उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सामान्य प्रशासन मन्त्रालयलाई विशेष अनुरोध गर्दै उनले पटक/पटक गरी मन्त्रालय र मातहतका एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् । बिहीवार मात्रै सामान्य प्रशासन मन्त्रालयले ठूलो मात्रामा कर्मचारीको सरूवा गरेको छ । अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाका शोभाकान्त पौडेललाई लोकसेवा आयोगमा सरुवा गरिएको छ भने गृह मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई अर्थमा ल्याइएको छ । अर्थ मन्त्रालयमा कार्यरत मुकुन्द निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा गरिएको छ । त्यस्तै लोकसेवा आयोगमा कार्यरत झकप्रसाद आचार्य अर्थ मन्त्रालय सरुवा भएका छन् । एक हप्ताअघि मात्र अर्थमन्त्री डा. खतिवडाले मन्त्रालयका अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए । डा. खतिवडाले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी महालेखा परीक्षकको कार्यालयमा रहेका विष्णुप्रसाद नेपाललाई दिएका थिए । आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका किशोरजङ्ग कार्कीलाई मन्त्रालयको अनुगमन तथा मूल्याङ्कन महाशाखाको जिम्मेवारी दिएका थिए । यस्तै, नेपालको ठाउँमा अर्थ मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका सुशील पाण्डेलाई सरुवा गरिएको थियो भने पाण्डेको ठाउँमा अनुगमनमा रहेका अर्जुन पोखरेललाई लगिएको थियो । आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रामशरण पुडासैनीलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको थियो । डा. खतिवडाले भन्सार विभागको महानिर्देशकमा तोयम राया र ठूला करदाता कार्यालयमा धनिराम शर्मालाई सरूवा गरेका थिए । राया र शर्मा अर्थमा भित्रिँदा भन्सार विभागको महानिर्देशक रहेका जगदीश रेग्मी र ठूला करदाता कार्यालयमा प्रमुख रहेका गङ्गाराम गेलाल अर्थबाट बाहिरिएका थिए । राजस्व व्यवस्थापन महाशाखा, आन्तरिक राजस्व विभाग र भन्सार विभागमा गरिएको परिवर्तनसँगै अर्थमन्त्रीले लक्ष्यबमोजिमको राजस्व सङ्कलन गर्न कडा निर्देशन दिएको बुझिएको छ । अर्थमन्त्री निकट स्रोतले भन्यो, ‘अर्थ र मातहतका निकायमा कर्मचारी लामो समय बस्दा भ्रष्ट प्रवृत्ति मौलाउन सक्ने खतरालाई रोक्न अर्थमन्त्रीले विभागीय कर्मचारीको जिम्मेवारी हेरफेर गर्न चाहनु भएको हो ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)