वैशाख १९, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संविधान विपरित महाभियोगको प्रस्ताव दर्ता गरिएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदनको सुनुवाई गर्न सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च बार एशोसिएशनसँग तीन जनाको दरले एमिकस क्युरी (अदालतको सहयोगी) पठाउन अनुरोध गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जवरा, दीपककुमार कार्की र केदार चालिसे सम्मिलित संवैधानिक इजलासले विवादित विषय गम्भीर प्रकारको भएको उल्लेख गर्दै नेपाल बार र सर्वोच्च बारसँग तीन जनाको दरले एमिकस क्युरी पठाउन अनुरोध गरेको हो ।
अधिवक्ता सुनील रञ्जन सिंहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई उनले मुद्दामा फैसला गरेको विषयलाई लिएर सांसदहरुले महाभियोग लगाउन नसक्ने उल्लेख गर्दै झण्डै एक वर्ष अघि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो रिट निवेदनको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश राणाको एकल इजलासले महाभियोगको प्रस्तावलाई अगाडि नबढाउन र पूर्वप्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन अन्तरिम आदेश गरेको थियो । हाल सो रिट निवेदन संवैधानिक इजलासमा विचाराधीन अवस्थामा रहेको छ ।