काठमाडौं । बीमा कम्पनीहरूले बीमाशुल्कबापत आउने रकम अबदेखि प्वाइण्ट अफ सेल्स(पस) मेशिनमार्फत भुक्तानी लिने व्यवस्था गर्नुपर्ने भएको छ । बीमासमितिले गत साता सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७५ जारी गरेको छ । उक्त निर्देशनको दफा १८ मा बीमा कम्पनीले सबै प्रकारको बीमाशुल्क पस मेशिनमार्फत भुक्तानी लिने व्यवस्था गरिएको हो । निर्देशनको दफा १८ अनुसार कम्पनीले आगामी चैत मसान्तसम्ममा १ लाखभन्दा बढीको बीमाशुल्क स्वीकार गर्दा बैङ्क, वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट भुक्तानी लिने व्यवस्था गर्नुपर्ने छ । साथै, कम्पनीले बीमालेखअन्तर्गत ५० हजारभन्दा बढीको दाबी भुक्तानी सम्बन्धित व्यक्तिको वित्तीय संस्था वा बैङ्कमा रहेको खातामा गर्नुपर्ने उक्त निर्देशनमा उल्लेख छ ।
यो निर्देशन जारी भएसँगै अब गैरकानूनी सम्पत्तिले कुनै पनि किसिमको बीमा गर्न पाइने छैन । बीमाक्षेत्रमा भएको कालोधनको निवारण गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको बीमा समितिले बताएको छ । यो निर्देशन लागू भएसँगै विसं २०६९ को निर्देशन खारेज भएको बीमा समितिको भनाइ छ । यस्तै, निर्देशनको दफा ४ अनुसार कम्पनीले ग्राहकको पहिचान तथा सम्पुष्टि गर्नुपर्ने भएको छ । कुनै प्राकृतिक व्यक्तिको कारोबारमा परिवारबाहेक अन्य कुनै व्यक्ति वास्तविक धनीका रूपमा रहेको शङ्का लागेमा सोको समेत पहिचान गर्नुपर्ने निर्देशनमा उल्लेख छ । निर्देशनमा भनिएको छ, ‘बीमित र अभिकर्ताबाहेक अन्य कुनै व्यक्तिले बीमितको नाममा नेपालस्थित कार्यालयमा रू. १ लाखभन्दा बढी बीमाशुल्क जम्मा गर्न आएमा कम्पनीले सो व्यक्तिको नाम, सम्पर्क नम्बर र ग्राहकसँगको सम्बन्ध खुलाउने विवरण लिनु पर्नेछ ।’
साथै, दफा ५ मा कम्पनीले उच्च पदस्थ व्यक्तिको पहिचान गर्दा थप उपाय अवलम्बन गर्नुपर्ने व्यवस्था गरिएको छ । कम्पनीले बीमालेख जारी गर्दा, बीमालेख धितो राखी ऋण प्रदान गर्दा वा बीमालेखअन्तर्गत अन्य कुनै प्रकारको भुक्तानी गर्दा उच्च पदस्थ व्यक्ति पहिचान हुने संयन्त्र बनाउनुपर्ने निर्देशनमा उल्लेख छ । निर्देशनमा भनिएको छ, ‘कम्पनीले उच्च पदस्थ व्यक्ति वा निजको परिवार तथा सम्बद्धव्यक्तिको सूचीको अभिलेख त्यस्तो व्यक्तिको अवकाश भएको वा निजको बीमा अवधि वा निजसँग व्यावसायिक सम्बन्ध समाप्त भएको मितिले ५ वर्षसम्म राख्नु पर्नेछ ।’
यस्तै, दफा ६ अनुसार कम्पनीले वास्तविक धनी पहिचान र सम्पुष्टि गर्दा सार्वजनिक रूपमा उपलब्ध सूचनाबाट जानकारी लिन पाउने छन् । साथै, प्रचलित कानूनबमोजिम कुनै निकायमा राखिएको कुनै अभिलेखबाट पनि वास्तविक धनी पहिचान गर्न सकिने निर्देशनमा उल्लेख छ ।
दफा ८ अनुसार कम्पनीले ग्राहकसँग व्यावसायिक सम्बन्ध तथा कारोबार स्थापना गर्दा बृहत् ग्राहक पहिचान पद्धति अवलम्बन गर्नुपर्ने हुन्छ । कम्पनीले ग्राहकसँग व्यावसायिक सम्बन्ध स्थापना गर्दा उक्त व्यक्ति उच्च जोखीमयुक्त भएमा सो व्यक्तिको सम्पत्तिको स्रोत पहिचान र कारोबारको उद्देश्यबारे जानकारी लिनुपर्ने निर्देशनमा उल्लेख छ । साथै, बीमाबापतको कुनै पनि प्रकारको भुक्तानी एकाउण्टपेयी चेकमार्फत निर्देशनमा व्यवस्था छ ।
खास कारोबारमा विशेष ध्यान दिनुपर्ने
निर्देशनअनुसार कम्पनीले बीमा ऐनबमोजिमका खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गर्नुपर्ने हुन्छ । सो प्रणाली लागू गरेको बीमा समितिलाई पनि जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।
शङ्कास्पद कारोबारको प्रतिवेदन गर्नुपर्ने
बीमा ऐनबमोजिम कुनै अवस्था विद्यमान भएमा कम्पनीले शङ्कास्पद कारोबारसम्बन्धी प्रतिवेदन तयार गरी ३ दिनभित्र वित्तीय जानकारी एकाइसमक्ष पेश गर्नुपर्ने हुन्छ । त्यस्तो प्रतिवेदन तयार गर्दा एकाइले जारी गरेको मापदण्डलाई आधार मान्नुपर्ने निर्देशनमा व्यवस्था छ । निर्देशनमा भनिएको छ, सम्बन्धित निकायले अनुसन्धानको शिलशिलामा कुनै व्यक्तिको विवरण माग गरेको अवस्थामा शङ्कास्पद देखिने नयाँ तथ्य प्राप्त गरेको कुरा अतिरिक्त सूचनाका रूपमा एकाइलाई जानकारी गराउनुपर्ने छ ।’ एकाइले जारी गरेको सीमा तथा शङ्कास्पद कारोबारसम्बन्धी निर्देशन कम्पनीले पालना गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
यस्तै, दफा २२ अनुसार ऐन, नियमावली र त्यसको निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने कम्पनी, कर्मचारी तथा पदाधिकारीलाई कानूनबमोजिम कारबाही हुनेछ ।
कारबाही प्रक्रियामा समितिले कम्तीमा १५ दिनको समय दिई स्पष्टीकरण सोध्नुपर्नेछ । स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएमा समितिले दफा २२ को उपदफा ३ बमोजिम बीमालेख जारी गर्न रोक लगाउने, नगद जरीवाना गर्ने तथा बीमक दर्तासमेत खारेज गर्न सक्नेछ ।