काठमाडौं । विदेशबाट चिनी आयात गर्दा बढाइएको भन्सार महशुल दर हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । ज्ञान इण्टरप्राइजेज र बाबा इण्टरप्राइजेजले हजारौं मेट्रिक टन चिनी आयात गर्न एलसीसमेत खोलिसकेको अवस्थामा सरकारले भन्सार महशुल दर बढाएपछि ती दुई संस्थाले सर्वोच्चमा रीट निवेदन दायर गरेको हो । १५ प्रतिशत रहेको चिनीको भन्सार महशुल दर हाल ३० प्रतिशत पुर्याइएको छ ।
न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले यही जेठ १४ गतेसम्म बढाइएको भन्सार महशुल दर कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको हो । सो मितिमा दिइएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने सम्बन्धमा सरकार र रीट निवेदकका कानून व्यवसायीबीच छलफल हुनेछ । उक्त मितिसम्ममा भन्सारमा अड्किएका चिनी १५ प्रतिशत भन्सार महशुल दरमा नै नेपाल प्रवेश गराउन बाटो खुलेको छ ।
ज्ञान इण्टरप्राइजेज र बाबा इण्टरप्राइजेजले पाकिस्तानको विभिन्न कम्पनीबाट चिनी खरीद गर्न एलसीसमेत खोलिसकेका थिए । त्यसरी खरीद गरिएको चिनीमध्ये केही विराटनगर भन्सार कार्यालयमा आइपुगेकोमा ३० प्रतिशत भन्सार महशुल दर नतिरी ज्ञान र बाबाले आफ्नो चिनी भित्र्याउन पाएका थिएनन् ।
चिनीको भन्सार महशुल दर १५ प्रतिशत रहेकोमा सरकारले गत वैशाख १४ गते ३० प्रतिशत पुर्याएको थियो । ज्ञान इण्टरप्राइजेजले मात्र झण्डै १ अर्ब रुपैयाँबराबरको एलसी खोलेको जानकारी सर्वोच्च अदालतलाई दिएको थियो । सो इण्टरप्राइजेजले ७ थान एलसी खोलेकोमा २०७४ फागुन १६ देखि २०७५ वैशाख २ गतेसम्म सम्पूर्ण चिनी नेपाल आइसक्नु पर्ने थियो । भन्सार महशुल दरमा खटपट परेपछि पाकिस्तानबाट आएको चिनी हाल विराटनगर भन्सारमा नै रहेको अवस्था छ ।
सरकारले आर्थिक ऐन, २०७४ को दफा १९ को प्रयोग गरी सोही ऐनबमोजिम भन्सार महशुल दरबन्दीको हार्मोनाइज्ड वस्तु वर्गीकरणको शीर्षक नम्बर १७.०१ का सबै उपशीर्षकहरूमा पैठारी भन्सार महलमा उल्लेख भएका १५ प्रतिशतको दरहरूको सट्टा ३० प्रतिशतका दरहरू कायम गरेको थियो ।
सर्वोच्च अदालतमा दायर भएका रीट निवेदनहरूमा एलसी खोली खरीदविक्रीको निर्णय भई निवेदकले चिनी पैठारी गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र चिनी आयात हुने क्रममा गरेकोमा सरकारले भन्सार महशुल दर बढाएको उल्लेख गरिएको थियो ।
रीट निवेदनमा अति आवश्यक दैनिक उपभोग्य वस्तु चिनीजस्तो आम जनताको हकहित र सरोकारको विषयमा सरकारले मनोगत आधारमा आफूखुशी जे मन लाग्यो त्यही गर्न नपाउने दाबी गरिएको थियो । भन्सार महशुल दर वृद्धि गरिएपछि चिनीको मूल्य बढ्ने आशङ्का गरिएको छ ।