जेठ ७, सुर्खेत । हिमामी तथा उच्च मध्यपहाडी भेगमा उत्पादन हुँदै आएको खाद्यन्न बाली कोदोको उत्पादन विगतको वर्षभन्दा घट्दो छ । पुरानो खाद्यान्न बाली कोदो खेती झन्झटिलो र खाद्यन्नमा कम उपयोग हुने भएकाले कृषकले समेत महत्व नदिँदा उत्पादन घट्दो क्रममा रहेको हो ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार कोदो उत्पादन गर्न छाडेपछि क्षेत्रफलसँगै उत्पादनमा समेत कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २ हजार ८ सय ३२ मेट्रिक टन कोदो उत्पादन भएकोमा चालू आवमा घटेर २ हजार ४ सय ४० मैट्रिक टन मात्र उत्पादन भएको कृषि कार्यालयले बताएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले कम हो ।
जिल्लाको कोदो उत्पादन क्षेत्रफल समेत घट्दै गईरहेको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लाभरी २ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएकोमा यस वर्ष २ हजार ७२ हेक्टर क्षेत्रफलमा सीमित भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले कम हो । जिल्लामा साविकका २२ ओटा गाविसमा कोदो खेती हुने गरेको छ ।
अधिकांश कृषक अन्य खेती तर्फ आकर्षित हुन थालेपछि कोदो उत्पादनममा ह्रास आएको कृषि कार्यालयको भनाइ छ । गुटुका अगुवा कृषक देवबहादुर थापा भने कृषि कार्यालयसँग प्रभावकारी योजना नहुँदा कोदो उत्पादनमा कमी आएको बताउँछन् । उनि भन्छन्, ‘रैथाने बालीको रुपमा रहेको कोदो उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन कार्यालयले सहयोग गर्नुपर्छ, जसले कृषकको मनोबल बढ्छ ।’ उनले जिल्लाका सबै स्थानीय तह र कृषि कार्यालयले कोदो उत्पादन वृद्धिका लागि नयाँ उपाय शुरु गर्न आग्रह गरे ।
देशभर नै कोदो उत्पादन घट्दै गर्दा देश सङ्घीयतामा गएपछि हाल जिल्ला कृषि कार्यालयसँग कृषकलाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम नरहेको वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले बताए । धेरै जसो बजेट सिधै स्थानीय तहमा जाने हुँदा जिल्ला कृषि कार्यालय हाल समन्वयकारी भूमिकामा मात्र सीमित रहेको उनको भनाइ छ । उनका अनुसार स्थानीय तहले कृषिक्षेत्रलाई सोचे जस्तो प्राथमिकता नदिँदा कोदो उत्पादन थप घट्ने सम्भावना छ ।
कोदो सुर्खेतका पूर्वी, उत्तर र पश्चिम पहाडी भेगमा उत्पादन हुँदै आएको छ । सुर्खेतमा हाल स्थानीय जातसँगै रसुवा जिल्लाका ओखले, काभ्रे–१ र डल्ले जातका कोदोको बिउ पाइन्छ । कृषकलाई कोदो उत्पादनप्रति आकर्षित गर्नका लागि सरकारीस्तरबाटै विशेष अभियान नै शुरु गर्न आवश्यक रहेको कृषि विकास कार्यालयका प्राविधिक सहायक रामभक्त अधिकारी बताउँछन् । ‘भात खाने बानीको चलन बढ्दै र कोदोको ढिंढो (कोदोको परिकार) खाने प्रचलन हट्दै गएको छ,’ उनले भने, ‘कोदोबाट विशेषगरी विस्कुट, केक र विभिन्न परिकार उत्पादन हुन्छ, यसतर्फ पनि स्थानीय तहसँगै प्रदेश सरकारले उद्योगका लागि विशेष पहल थाल्न आवश्यक देखिन्छ ।’