ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुराना जीवन बीमा कम्पनी : नाफा २१ प्रतिशत वृद्धि

May 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । चालू आर्थिक वर्ष २०७४/७५ को चैतसम्मको अवधिमा पुराना ९ जीवनबीमा कम्पनीको नाफा बढेको छ । ती कम्पनीहरूको गत आवको सोही अवधिको तुलनामा २१ प्रतिशत नाफा बढेको छ । समीक्षा अवधिमा ती जीवनबीमा कम्पनीहरूले कुल रू. १ अर्ब २४ करोड ५६ लाख ७३ हजार नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा ती कम्पनीहरूको नाफा रू. १ अर्ब २ करोड ६९ लाख २९ हजार थियो । चुक्तापूँजी वृद्धिको अभियानमा रहेका कम्पनीहरूले चालू आवमा चुक्तापूँजीसँगै नाफासमेत बढाएको देखिन्छ । चालू आवको ९ महीनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका पुराना ९ जीवनबीमा कम्पनीमध्ये सर्वाधिक नाफा कमाउनेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । गत आवको समीक्षा अवधिमा रू. ६६ लाख नाफा कमाएको उक्त संस्थान चालू आवको सोही अवधिमा १ सय २२ प्रतिशत बढी अर्थात् रू. १ करोड ४७ लाख नाफा कमाउन सफल देखिएको छ । संस्थानको आम्दानी गत आवको तुलनामा करीब ७१ प्रतिशत बढेको छ । गत आवको ९ महीनामा विभिन्न शीर्षकमा रू. १ करोड ६२ लाख ५४ हजार आम्दानी गरेको संस्थान चालू आवको सोही अवधिमा रू. २ करोड ७७ लाख ६९ हजार आम्दानी गर्न सफल भएको हो । संस्थानका निमित्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले चालू आवमा बीमाशुल्क आर्जन बढाउने अभियानमा संस्थान लागिपरेकाले पनि नाफा बढेको जानकारी दिए । साथै बैङ्क तथा वित्तीय संस्थाहरूले चालू आवमा मुद्दती निक्षेपमा ब्याजदर बढाएकाले पनि संस्थानको आम्दानी बढेको उनको भनाइ छ । नाफा कमाउने अन्य कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन दोस्रो स्थानमा रहेको छ । उक्त कम्पनी शतप्रतिशत नाफा बढाउन सफल भएको छ । गत आवको ९ महीनामा रू. ४ करोड ९८ लाख ७७ हजार नाफा आर्जन गरेको उक्त कम्पनीले चालू आवको सो अवधिमा रू. ९ करोड ९८ लाख नाफा आर्जन गरेको छ । कम्पनीको आम्दानी चालू आवमा ८७ प्रतिशत बढेका कारण पनि नाफा बढ्न सहयोग पुगेको हो । गत आवको समीक्षा अवधिमा रू. १० करोड ३६ लाख ४८ हजार आम्दानी रहेको कम्पनीले चालू आवको सोही अवधिमा रू. १९ करोड ३९ लाख ७४ हजार आम्दानी गरेको छ । चालू आवको नाफामा सबैभन्दा कम वृद्धि मेट लाइफको देखिन्छ । मेट लाइफले गत आवभन्दा १ प्रतिशत मात्र बढी नाफा आर्जन गरेको छ । चालू आवको ९ महीनामा मेट लाइफको नाफा रू. १८ करोड ८९ लाख ६४ हजार मात्र रहेको छ । गत आवको सोही अवधिमा मेट लाइफले रू. १८ करोड ६४ लाख ७८ हजार नाफा आर्जन गरेको थियो । चालू आवको समीक्षा अवधिमा कम्पनीको आम्दानी गत आवको सोही अवधिको तुलनामा साढे १८ प्रतिशत कम भएकाले पनि नाफामा कम वृद्धि भएको हो । मेट लाइफले गत आवको समीक्षा अवधिमा रू. ३० करोड ६३ लाख ९४ हजार आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. २४ करोड ९४ लाख ८७ हजार मात्र आम्दानी गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)