ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीबाट क्षतिग्रस्त सडक/पुल मर्मत सम्भार नहुने

May 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । गतवर्षको साउन र भदौमा गएको बाढीका कारण क्षति भएका तराई भेगमा पर्ने राजमार्ग तथा सहायक राजमार्गका सडक र पुलहरूको निर्माण तथा मर्मतसम्भार तत्काल नहुने भएको छ । बाढीबाट क्षति भएका सडक र पुलका साथै पहुँच मार्गहरू अझै पनि ठेक्का प्रक्रियामा जान नसकेपछि अब आउने वर्षायाममा यी सडक र पुलको मर्मत सम्भार तथा निर्माणको काम नहुने निश्चित भएको हो । सडक विभागका अनुसार अहिलेसम्म बाढीबाट क्षति भएका सडक र पुलहरू निर्माणका लागि बजेट उपलब्ध भएको छैन । ‘बाढीबाट क्षति भएका सडक तथा पुलहरू अझै पनि अस्थायी संरचनाकै भरमा सञ्चालनमा आएका छन्,’ विभागका प्रवक्ता मुक्ति गौतमले भने, ‘अहिलेसम्म पनि यी सडक र पुल मर्मत सम्भार र निर्माणका लागि बजेट नआएकाले अहिलेको वर्षायाममा थप कष्टपूर्ण हुने अवस्था आउने देखिएको छ ।’ गतवर्षको वर्षायाममा मुख्य राजमार्ग तथा सहायक राजमार्गका सडक तथा पुलहरूमा व्यापक क्षति भएको थियो । ती क्षतिग्रस्त सडक तथा पुलको निर्माण तथा मर्मत सम्भारका लागि ठेक्का प्रक्रियामा जान आवश्यक भए पनि बजेट उपलब्ध नहुँदा टेण्डर प्रक्रियामा समेत जान नसकेको विभागको भनाइ छ । प्रवक्ता गौतमले भने, ‘अब बजेट उपलब्ध भए पनि क्षतिग्रस्त सडक तथा पुलको निर्माण कार्य हुन सक्दैन, टेण्डर प्रक्रियाबाट जाँदा २÷३ महीना लाग्छ ।’ यो वर्षको मनसुन शुरू हुन लाग्दासमेत निर्माण तथा मर्मत सम्भारको प्रक्रियामा नगएकाले क्षतिग्रस्त सडक तथा पुलहरूका कारण आगामी वर्षायाममा थप समस्या हुने देखिएको छ । विभागले बाढी पहिरोबाट क्षतिग्रस्त भएका सडक तथा पुलहरूको मर्मत सम्भार तथा निर्माणका लागि रू. ३ अर्ब बजेट माग गरेको छ । प्रवक्ता गौतमले पटकपटक बजेटका लागि अर्थ मन्त्रालयसँग आग्रह गर्दा पनि बजेट नपाएको र पछिल्लो समयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग बाढीबाट क्षति भएका सडक निर्माण हुने जवाफ आएको बताए । प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले प्राधिकरणको निर्देशक समितिले बाढीबाट क्षति भएका सडकहरू निर्माण नगर्ने निर्णय गरेकाले यसको जिम्मेवार प्राधिरकण नहुने बताए । अहिले विभागले ती क्षतिग्रस्त संरचनामा अस्थायीरूपमा बोरामा बालुवा राखेर माटो, गिट्टीले खाडलहरू समथर पार्ने काम भएको बताएको छ । यसैगरी बाँसबाट अस्थायी संरचना बनाएर पुलहरू सञ्चालनमा आएका छन् । खासगरी तराईमा पर्ने राजमार्ग तथा सहायक राजमार्गमा वर्षायाममा आउने बाढीका कारण प्रायःजसो पुलपुलेसा क्षतिग्रस्त हुँदै आएका छन् । तर, सम्बन्धित निकायहरूले समयमै मर्मत सम्भारका लागि भने ध्यान दिन सकेका छैनन् । बाढीपहिरोबाट क्षति भएका सडक तथा राजमार्गका पुलहरूको निर्माण कार्य तत्काल शुरू नभएमा आगामी वर्षायाममा निकै चुनौती खेप्नुपर्ने अवस्था सृजना हुने विभागको ठहर छ । पूर्व–पश्चिम राजमार्ग, कोशी राजमार्ग, सिद्धार्थ राजमार्गका विभिन्न खण्डमा रहेका सडक र पुल बाढीपहिरोका कारण क्षति हुँदा करीब रू. ४ अर्बबराबरको क्षति भएको विभागको तथ्याङ्क छ । गतवर्षको वर्षायाममा आएको बाढीले सबैभन्दा बढी पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्ड, कोशी राजमार्गका विभिन्न सडक खण्ड, ढल्केवर–जनकपुरलगायत खण्डका सडक कतिपय ठाउँमा बगाएका र कतै भासिएका थिए । बाढीका कारण मुख्य राजमार्गका २ दर्जनभन्दा बढी सडकका पहुँच मार्गहरू र पुलहरू भत्किएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)