ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साइबर क्राइम बीमा : बजार कम, जोखीम बढी

May 29, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । पछिल्लो समय नेपाललगायत विश्वका अधिकांश मुलुकमा साइबर अपराधसम्बन्धी घटनाहरू बढ्दै गएका छन् । विगतमा नेपालका कृषि विकास बैङ्क र एनआईसी एशिया बैङ्क साइबर अपराधको शिकार बन्नु परेको थियो । व्यक्तिगत एटीएम कार्डहरू पनि ह्याक भएर पैसा चोरी हुने गरेको पाइन्छ । नेपालका विभिन्न क्षेत्रमा साइबर अपराध बढेपछि बीमाक्षेत्रले पनि यस विषयमा चासो देखाएको छ । बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले कम्पनीबाट साइबर क्राइम बीमालेखको माग आएमा आवश्यक छलफल गरी कारोबारको लागि स्वीकृति दिने बताए । उनले यस बीमाको लक्षित क्षेत्रको दायरा कम भएको हुनाले शुरुआती चरणमा बजारको अभाव हुन सक्ने आशङ्का व्यक्त गरे । त्यसकारण यस बीमाको प्रिमियम अन्यको तुलनामा बढी हुन सक्ने उनको भनाइ छ । हाल साइबर क्राइम बीमाको अन्तरराष्ट्रिय रूपमा कारोबार भइरहेको छ । नेपालमा भने यस बीमा कार्यक्रमको अझै अभ्यास हुन सकेको छैन । बीमाविज्ञ भोजराज शर्माले नेपालमा साइबर अपराध बढेकाले छिटै साइबर क्राइम बीमालेख जारी गर्नुपर्ने बताए । उनले बजार र प्राविधिक विषयको अध्ययन तथा अनुसन्धान गरी साइबर क्राइम बीमा लागू गर्नुपर्ने धारणा व्यक्त गरे । यद्यपि, साइबर क्राइम बीमाका लागि नेपाली बजार चुनौतीपूर्ण रहेको उनको ठम्याइ छ । बजारको अभाव र बढी जोखीम हुने साइबर अपराधको बीमा गर्दा स्वयम् कम्पनी नै घाटामा जान सक्ने उनको भनाइ छ । उनले भने, ‘आवश्यकताअनुरूप बजार अभावका कारण कम्पनीहरूले पनि साइबर क्राइम बीमाको कारोबार गर्न चासो दिएको पाइँदैन ।’ विशेष गरी बैङ्क, वित्तीय र लघुवित्त सङ्घसंस्थाले अनलाइनमार्फत काम गर्नुपर्ने हुन्छ, जसअनुसार साइबर क्राइम बीमाको मुख्य ग्राहक वित्तीय क्षेत्र हुन्छ । तर, नेपालमा वित्तीय सङ्घसंस्था थोरै भएकाले कम्पनीहरूलाई यस बीमा योजनाका लागि आवश्यक मात्रामा बजारको अभाव देखिन्छ । समितिका कार्यकारी निर्देशक कार्कीले कुनै व्यक्ति साइबर क्राइम बीमा गर्न कम्पनीमा आए पनि बीमा गर्ने अवस्था नभएको जानकारी दिए । साइबर क्राइम बीमामा बढी जोखीम हुने भएकाले सीमित मात्रामा बीमा गर्दा कम्पनीलाई हानि हुन सक्ने उनको भनाइ छ । साइबर क्राइम बीमालाई प्रभावकारी रूपमा अगाडि बढाउन प्राविधिक सर्वेयरको पनि अभाव देखिन्छ । साइबर अपराधमा कस्ता कस्ता जोखीम हुन्छन् र बीमामार्फत उक्त जोखीमहरूको रक्षावरण कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकार सर्वेयरको अभाव रहेको समितिको भनाइ छ । साइबर क्राइमसम्बन्धी बीमालेख तयार पार्न प्राविधिक विज्ञ पनि आवश्यक हुने समितिले बताएको छ । नेपालमा बीमासम्बन्धी विदेशी कम्पनीहरूले साइबर क्राइम बीमाको कारोबार गराउन प्रयत्न गरेको पाइन्छ । भारतीय पुनर्बीमा ब्रोकर कम्पनी एक्सपेरिटस ग्रूपले नेपालमा साइबर क्राइम बीमाको कारोबार गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व तिमिलाले नेपालमा साइबर क्राइम बीमाको सम्भावना रहेको बताए । विगतमा साइबर अपराधबाट भएका नोक्सानीले बजारमा जनचेतनाको विकास भएको बताउँदै उनले बीमालेखलाई बलियो रूपमा जारी गर्नुपर्ने बताए । के हो साइबर क्राइम बीमा ? यस बीमा कार्यक्रमले साइबर अपराधमार्फत आउने कुनै पनि जोखीमको रक्षावरण गर्दछ । इण्टरनेट प्रयोग गर्ने व्यक्ति वा संस्थाले साइबर अपराधमार्फत आउने जोखीमलाई न्यूनीकरण गर्न यो बीमालेख खरीद गर्न सक्छन् । यस बीमा पोलिसीमा बीमा अवधिभर नियमित अनुगमन गरी साइबर जोखीमको रिपोर्ट बनाउने र आवश्यकताअनुसार जोखीम न्यूनीकरणको उपाय सुझाउने कार्य सर्वेयरले गर्नुपर्ने हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)