सर्वोच्चको अन्तरिम आदेश : एट्लाण्टिकको क्यासिनोमा पुरानै कर्मचारी
Jun 4, 2018
 
समाचार
काठमाडौं । होटल डेला अन्नपूर्णमा क्यासिनो सञ्चालन गरेको एट्लाण्टिक रिक्रियशन सेण्टरले पुरानो क्यासिनोमा कार्यरत ९ सय २२ जना कामदारलाई पुनर्बहाली गर्न बाध्यता सृजना भएको छ ।
नयाँ क्यासिनो सञ्चालन गर्ने बहानामा पुरानो क्यासिनोमा कार्यरत कर्मचारीलाई हटाउन नहुने भनी केही दिनअघि मात्र सर्वोच्च अदालतले अन्नपूर्ण होटललगायतलाई अन्तरिम आदेश दिएपछि पुराना कर्मचारी ९ सय २२ जनालाई उक्त सेण्टरले पुनर्बहाली गर्न बाध्यता सिर्जना भएको हो ।
विघटन भएको नेपाल रिक्रियशन सेण्टरले सञ्चालन गरेको क्यासिनो अन्नामा ९ सय २२ जना कर्मचारी विभिन्न पदमा कार्यरत थिए । क्यासिनो सञ्चालन गरेबापत बुझाउनु पर्ने रोयल्टी तथा बाँकी बक्यौता दाखिला नगरेको भनी पर्यटन मन्त्रालयले २०६८ असार २ गते क्यासिनो सञ्चालन गर्न रिक्रियसन सेण्टरलाई प्रतिबन्ध लगाएको थियो । त्यसरी प्रतिबन्ध लगाएपछि केही समय होटल अन्नाले नै क्यासिनो सञ्चालन गरेकोमा पछि बन्द नै भएको थियो । त्यसरी क्यासिनो बन्द भएपछि त्यसमा कार्यरत सम्पूर्ण कर्मचारी अलपत्र परेका थिए ।
पर्यटन मन्त्रालयको गत पुस १२ गतेको निर्णयले होटल अन्नामा एट्लाण्टिक रिक्रियशनले क्यासिनो खोल्ने अनुमति दिएको हो । पहिलेकै होटलमा नाम मात्र फरक पारी क्यासिनो सञ्चालन भएको उल्लेख गर्दै त्यसमा आफूहरूले कार्य गर्न पाउनु पर्ने दाबीसहित पुराना कर्मचारीमध्ये १० जनाले सर्वोच्च अदालतमा रीट निवेदन दायर गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलाशले नाम मात्र हेरफेर गरी क्यासिनो सञ्चालन गर्दैमा पुराना कर्मचारीलाई जिम्मेवारीबाट वञ्चित गर्न नपाउने उल्लेख गर्दै इच्छा राख्ने कर्मचारीलाई काममा लगाउन अन्तरिम आदेश दिएको हो ।
रीट निवेदन दायर गर्नेमा पुराना कर्मचारी दिनकलाल श्रेष्ठ, जयन्तकुमार श्रेष्ठ, सन्तोषकुमार घिमिरे, रूपनारायण श्रेष्ठ, राजन श्रेष्ठ, नानीकाजी बस्नेत, गोमा भण्डारी, दुर्गामान तामाङ, मुरारी दाहाल र अमिररत्न शाक्य छन् । सर्वोच्च अदालतले पुराना कर्मचारीलाई काममा लगाउनबाट वञ्चित गर्न नहुने उल्लेख गरेका कारण रीट निवेदकबाहेक अन्य पुराना कर्मचारीलाई क्यासिनोले काममा लगाउनुपर्ने कानूनविद्ले बताएका छन् ।
रीट निवेदकको तर्फबाट बहस गर्ने एक कानून व्यवसायीले रीट निवेदकबाहेक अन्य कर्मचारीलाई पनि अब क्यासिनोले काममा लगाउनु पर्ने अवस्था सृजना भएको उल्लेख गरे । यदि रीट निवेदक बाहेकका कर्मचारीलाई काममा लगाउन आनाकानी गरेमा उनीहरूले पनि रीट निवेदन दायर गर्नुपर्ने अवस्था सृजना हुने ती कानून व्यवसायीले बताए । उनले भने, ‘तर सर्वोच्च अदालतले पनि उनीहरूको हकमा १० जनाको जस्तै सजिलै अन्तरिम आदेश दिनेछ ।’ सर्वोच्च अदालतले इच्छा राख्ने पुराना कामदारलाई क्यासिनोका नियमहरू पालना गर्ने शर्तमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो ।
रीट निवेदकले दायर गरेका रीट निवेदनमा आफूहरूले पुरानो तलबभत्ता पनि पाउन नसकेको दाबी गरेका छन् । रीट निवेदनमा उनीहरूले उल्लेख गरेका छन्, ‘क्यासिनोमा जुवा खेलाउँदा एकै दिनमा करोडौं रुपैयाँको जित हार हुन्छ । मासिक अर्बौं रुपैयाँको कारोबार हुन्छ । क्यासिनोको प्रकृति नै आम्दानी र गुमाउने खालको हुन्छ । यस्तो प्रकृतिको जुवा खेलाउने क्यासिनोले कर्मचारीलाई उपलब्ध गराउनु पर्ने केही मात्राको रकम उपलब्ध गराउन नसक्ने भन्ने प्रश्न नै आउँदैन ।’