ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हजमोला क्याण्डीको मुद्दा : राजस्व चुहावटको पुष्टि

Jun 6, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । सर्वोच्च अदालतले विदेशमा बनेको सामान चोरीपैठारी गरी नेपालमा बनेको उल्लेख भएको लेमुनेट गरी विक्रीवितरण गरेमा राजस्व चुहावट गरेको पुष्टि हुने ठहर गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल र हालका न्यायाधीशहरू दीपककुमार कार्की तथा मीरा खड्काको पूर्ण इजलाशले डेढ वर्षअघि त्यस्तो ठहर गरेको भए पनि मङ्गलवार मात्र सो फैसला कानून पत्रिकामार्फत सर्वोच्च अदालतले सार्वजनिक गरेको छ । नेपालस्थित डाबर नेपाल प्रालिले भारतमा बनेको हजमोला क्याण्डी अवैध रूपमा पैठारी गरी नेपालमा बनेको भनी उल्लेख भएको प्लाष्टिकको जारमा हाली विक्री वितरण गरेको भन्ने आरोपको साथ काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । यसअघि नेपालको हजमोलाको कम्पनीमा छापा मार्दा राजस्व अनुसन्धान विभागले ‘डाबर इण्डिया लिमिटेडद्वारा उत्पादित र इण्डियामा बनेको’ भनी उल्लेख भएको १ लाख २८ हजार ८८ केजी हजमोला क्याण्डी बरामद गरेको थियो । विभागले त्यसरी बरामद भएको क्याण्डीको नेपाली मूल्य ६४ लाख ६१ हजार ६ सय ८७ रुपैयाँ ३६ पैसा रहेको उल्लेख गरेको थियो । सो रकमको १६ प्रतिशतले हुने भन्सार महशुल दर १० लाख ३३ हजार ८ सय ६९ रुपैयाँ ९८ पैसा राजस्व चुहावट गरेको आरोप लगाइएको थियो । त्यसरी भन्सार महशुल दर चुहावट गरेको रकम डाबर नेपाल प्रालिका वित्तीय प्रबन्धक अश्विनी मेहरा महाप्रबन्धक तरुणकुमार गुप्तालगायतबाट उठाउन र कैदसमेत गर्न माग गरी मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला अदालतले भन्सार महशुल दर चुहावट गरेको रकम १० लाख ३३ हजार ८ सय ६९ रुपैयाँ ९८ पैसा मेहरा र गुप्ताबाट दामीसाही अनुसार उठाउने र गुप्तालाई २ लाख तथा मेहरलाई १ लाख ५० हजार जरीवाना हुने फैसला गरेको थियो । दुवैलाई १ दिनको दरले कैद हुने पनि ठहर गरेको थियो । उक्त फैसलामा चित्त नबुझाई दुवै पक्षले पुनरावदेन गरेका थिए । तत्कालीन पुनरावेदन अदालतले सबैलाई सफाइ दिएको थियो । त्यसमा पनि चित्त नबुझाई सरकार पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले जिल्ला अदालतको फैसलालाई नै सदर गरेको छ । सो मुद्दामा प्रतिवादी बनाइएकाहरूले क्याण्डीहरू नेपालमा नै उत्पादन भएका तर भूलवश भारतमा बनेको भन्ने लेबुलसम्म लाग्न गएको बयान गरेका थिए । सर्वोच्च अदालतले सो भनाइको पुष्टि नभएको फैसलामा उल्लेख गरेको छ । सर्वोच्च अदालतको फैसलामा उल्लेख गरिएको छ, ‘भारतमा बनेको हजमोला क्याण्डी चोरी पैठारी गरी नेपालमा ल्याई नेपालमा बनेको भन्ने देखाउन सो क्याण्डी राखिएको जारमा नेपालमा बनेको भन्ने लेमुनेट लगाएको देखिँदा प्रतिवादीहरूले राजस्व चुहावट गरेको भन्ने पुष्टि हुन आएको पाइयो ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)