ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजी वन पैदावार विक्री गर्न नपाउने आदेश

Jun 8, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । निजी जग्गामा लगाइएको वन पैदावारलाई कटान गरी विक्री गर्ने सोचाइमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने अबदेखि कानूनको फन्दामा परी तपाईंलाई सजायसमेत हुन सक्छ । सर्वोच्च अदालतको विभिन्न संयुक्त इजलाशले निजी जग्गामा रहेका वन पैदावारलाई विक्री गर्न सक्ने र नसक्ने गरी दुईथरी नजिर स्थापना गरेको थियो । अब भने ती दुई नजिरलाई विश्लेषण गरी पूर्ण इजलाशले निजी जग्गामा रहेका वन पैदावारलाई कसैले पनि विक्रीवितरण गर्न नसक्ने गरी एकरूपता कायम गरिदिएको छ । सर्वोच्च अदाललते नजिरमा एकरूपता कायम गरेपछि अबदेखि कसैले निजी जग्गामा रहेका वन पैदावारलाई विक्रीवितरण, ओसारपसार र विदेश निकासी गर्न नपाउने भएका छन् । सर्वोच्च अदालतको सो निर्णयबाट निजी प्रयोजनका लागि भने त्यस्तो पैदावार प्रयोग गर्न कुनै बन्देज लागेको छैन । न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको पूर्ण इजलाशले गरेको आदेशमा उल्लेख गरिएको छ, ‘कुनै पनि व्यक्तिको दर्ताको जग्गामा रहेका रुखहरू निजी सम्पत्ति भए तापनि रूखबिरुवा जस्ता जैविक विविधता रहेका वस्तुहरूले सार्वजनिकरूपमा नै पर्यावरणलाई बचाइ राख्न मद्दत दिइरहेको हुन्छ । तसर्थ यस्तो वस्तुको उपभोग, प्रयोग पर्यावरण र जैविक विविधतालाई क्षति नहुने गरी हुनु वाञ्छनीय हुन्छ ।’ यसभन्दा अघि निवेदकहरू ज्ञानेन्द्रप्रसाद थपलिया, हरिप्रसाद अधिकारीलगायतका बेग्लाबेग्ला रीट निवेदनमा निजी क्षेत्रमा रहेका वन पैदावारलाई विक्रीवितरण गर्न सक्ने गरी सर्वोच्च अदालतले बाटो खोलिदिएको थियो । यसैगरी निवेदक उज्जरसिंह घर्तीसमेत भएको अर्को विवादमा सर्वोच्च अदालतको संयुक्त इजलाशले निजी क्षेत्रमा भएको वन पैदावारलाई विक्रीवितरण गर्न नसक्ने गरी पहिलेकोसँग बाझिने गरी अर्को नजिर बनाएको थियो । एकै प्रकृतिको विवादमा दुईथरी नजिर आएपछि एकरूपता कायम गराउन सर्वोच्च अदालतले डोटी जिल्लाका रीट निवेदकहरू नयनबहादुर नामजाली, भीमबहादुर नामजाली, डम्बरबहादुर मगर, हंसराज थापा मगर, कर्णबहादुर पुलामी मगरलगायतका विवादलाई ३ जना न्यायाधीश सम्मिलित पूर्ण इजलाशमा पठाइएको थियो । उक्त पूर्ण इजलाशले प्रतिपादन गरेको नजिर बिहीवार सर्वोच्च अदालतले सार्वजनिक गरेको हो । वन ऐन, २०४९ को दफा २ (ग) मा वन पैदावार भन्नाले काठ, दाउरा, गोल, खैरकच, खोटो, काठको तेल, बोक्रा, लाहा, पिपला पिपली, रूख, पात फल, फूल, मौवा, चिराइतो र सबै प्रकारका जङ्गली जडीबुटी पर्ने उल्लेख गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)