ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्जा र निक्षेपको असन्तुलनले ब्याजदरमा चाप

Jun 11, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको कर्जा र निक्षेपबीचको असन्तुलनले ब्याजदरमा चाप पारेको बताएको छ । आर्थिक वर्ष (आव) २०७४/७५ को १० महीनाको समष्टिगत आर्थिक स्थितिको प्रतिवेदनमा केन्द्रीय बैङ्कले यस्तो बताएको हो । प्रतिवेदनले चालू आवको १० महीनामा कुल कर्जा प्रवाह १९ दशमलव ६ प्रतिशतले बढ्दा निक्षेप भने १६ प्रतिशतले मात्र बढेको देखाएको छ । समीक्षा अवधिको कर्जा प्रवाह वृद्धिदर ५ वर्षकै उच्च भएको पनि राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ । वार्षिक विन्दुगत आधारमा पनि कर्जाको वृद्धिदर निक्षेपको तुलनामा लगातार धेरै रहेकाले यस्तो असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको राष्ट्र बैङ्कको भनाइ छ । तथापि, २०७५ वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६ प्रतिशत रहेकाले कर्जाको ब्याजदर पनि सम्हालिने अनुमान छ । केन्द्रीय बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बैङ्क तथा वित्तीय संस्था चङ्गा र राष्ट्र बैङ्क लट्टाइ भएकाले मौद्रिक नीतिरूपी धागोबाट सन्तुलन प्राप्त हुने बताउँछन् । ‘निक्षेपको लागतका आधारमा कर्जाको ब्याजदर निर्धारण गर्ने भए पनि नेपालमा त्यस्तो हुन सकेको छैन,’ उनले भने, ‘निक्षेपको ब्याजदर साढे ६ प्रतिशत हुँदा पनि कर्जाको ब्याजदर अझै १४/१५ प्रतिशत छ, जुन १० प्रतिशतको हाराहारी हुनुपर्ने हो ।’ अब चङ्गा नियन्त्रण गर्न धागो नचुँडिने गरी लट्टाइ चलाउनुपर्ने बेला आएको थापाको तर्क छ । बैङ्कहरूको उच्च आम्दानी कायम गर्न निक्षेप र कर्जाको ब्याजदर अन्तर बढाएको उनको दाबी छ । यद्यपि ब्याजदरमा भएकोे वृद्धिले निक्षेप परिचालनमा पनि सकारात्मक प्रभाव पारेको छ । गत आवको सोही अवधिमा ९ दशमलव ३ प्रतिशतले बढेको निक्षेप अहिले १६ प्रतिशतले बढेको छ । गत आवको १० महीनामा १ खर्ब ८७ अर्ब रुपैयाँ थप निक्षेप सङ्कलन गरेका बैङ्क तथा वित्तीय संस्थाहरूले चालू आवको सोही अवधिमा २ खर्ब ५६ अर्ब रुपैयाँ थप निक्षेप पाएका छन् । यस्तै, केन्द्रीय बैङ्कको तथ्याङ्कअनुसार बैङ्कहरूले चालू आवको १० महीनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन्, गत आवको सोही अवधिमा २ खर्ब ९४ अर्ब थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा १८ दशमलव १ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा १६ दशमलव ६ प्रतिशतले बढेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)