ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामुदायिक वनमा फल्यो १० मुरी आलु, अब मुला रोप्ने तयारी

Jun 14, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

जेठ ३१, म्याग्दी । बेनी नगरपालिका–५ पुलाचौर डडुवास्थित भेडाखोर सामुदायिक वनमा १० मुरी आलु फलेको छ । खेतीयोग्य जमिन उपयोग गर्ने नीति अन्तर्गत सामुदायिक वनको खाली जमिनमा परीक्षणको रुपमा पहिलो पटक ५ हजार रुपैयाँ बराबरको आलुको बिउ खरीद गरी खेती गरिएको थियो ।

परीक्षणको रुपमा गरिएको आलुखेती सफल भएपछि स्थानीय उत्साहित भएका छन् । उक्त सामुदायिक वन उपभोक्ता समितिका सदस्य मोहन बहादुर भण्डारीले भने, ‘करीब १० मुरी राम्रो आलु उत्पादन भएको थियो, उत्पादित आलु वनबाटै विक्री भयो ।’ उनका अनुसार आलु प्रतिपाथी ९० रुपैयाँको दरले स्थानीय उपभोक्तालाई विक्री गरिएको हो । आलु खेतीका लागि उपयुक्त माटो रहेकाले आलु विक्रीबाट सङ्कलन गरिएको करीब १८ हजार रुपैयाँबाट मुला खेती गर्ने तयारी भइरहेको छ । सामुदायिक वनले खाली जमिनमा तरकारी खेतीलाई निरन्तरता दिन लिफ्ट सिँचाई आयोजनाबाट समेत पानीको प्रयोग गर्ने गरेको छ ।

आलु र मुला उत्पादनमा पकेट क्षेत्र समेत रहेको छिमेकी मङ्गला र रघुगङ्गा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा जस्तै डडुवामा ठुला दाना, छिटो पाक्ने, खाँदा स्वादिलो हुने आलु उत्पादन हुने भएकाले पनि बजारमा माग उच्च रहेको भेडाखोर सामुदायिक बनकी उपभोक्ता रामकुमारी खत्रीले बताइन् । डडुवामा रहेका ९३ घरधुरीमध्ये अधिकांशले आलुखेतीमा जनश्रमदान गरेका थिए । परीक्षण उत्पादनमै आम्दानी भएपछि स्थानीय उत्साहित भएका छन् ।

सामुदायिक वन भित्र खाली रहेका जमिनमा जडिबुटी र तरकारी खेतीका लागि थप पूर्वाधार विस्तार गरिने समितिले बताएको छ । करीब ५८ हेक्टर जमिनमा फैलिएको वनभित्र रहेका काठ, दाउरा, घाँसको चोरी निकासी रोक्न सहयोग पुग्ने भएकाल वन क्षेत्रको संरक्षण भएको सचिव बल बहादुर बानियाँले बताए । ‘घरायसी प्रयोजनका लागि मात्रै खेती गर्ने गरिएको थियो, अहिले गाउँमा व्यावसायिक आलु खेतीमा समेत आर्कषण बढेको छ’ उनले भने ।

जिल्लामा स्थानीय सेतो, रातो जातको आलु, निलो, कार्डिनल र एमएस ४२ नामक आलु उत्पादन हुने गरेको छ । जिल्ला आलु खेतीमा आत्मनिर्भर छ । अनुकुल वातावरण, सहज बजार मूल्य, अनुदान, हित कोष सहितका कार्यक्रमबाट आकर्षित भएका किसानले अन्य बालीलाई समेत छोडेर आलु खेती तर्फ आर्कषित हुन थालेपछि जिल्लामा वार्षिक ४५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)