ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुलाङ–गुर्जा सुरूङ मार्गको स्थलगत अध्ययन

Jun 18, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

असार ४, म्याग्दी । धौलागिरी गाउँपालिकाको महत्वाकांक्षी योजनाको रुपमा रहेको लुलाङ–गुर्जा जोड्ने सुरूङ मार्गको स्थलगत अध्ययन भएको छ । जिल्लाकै अति विकट गुर्जा गाउँमा सडक सञ्जालको विकल्पको रुपमा लिइएको सुरूङ मार्गको प्रारम्भिक अध्ययनका लागि स्टेन्थ डेभलपर्स प्रालिका ईन्जिनियर कृष्ण गौतमको नेतृत्वमा दुई सदस्यीय टोली लुलाङ पुगेको थियो ।

गाउँपालिकाका प्रवक्ता एवम् गुर्जाका वडा अध्यक्ष झक बहादुर छन्त्यालले भने, ‘टोली स्थलगत अध्ययन गरेर फर्किएको छ, समग्र जिल्लालाई सुरूङमार्गले फाईदा पुग्छ ।’ जिल्लाको सदरमुकाम बेनीबाट करीब २६ कोष टाढा रहेको गुर्जा गाउँपालिकाकै अति विकट वडा हो । यो क्षेत्रमा सडक सञ्जाल असम्भव जस्तै भएकाले चालू आर्थिक वर्षमा ८ लाख विनियोजन गरिएको थियो । गाउँपालिकाले स्टेन्थ डेभलपर्स प्रालिसँग स्थलगत अध्ययनका लागि ४ लाख ९४ हजार रुपैयाँमा सम्झौता गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

टोलीले अब सुरूङ मार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्ने छ । आयोजनाको बजेट विनियोजनपछि पहिलो कार्यको रुपमा लिइएको स्थलगत अध्ययनबाट सुरूङ मार्गको आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय प्रभाव लगाएत सम्रग पक्षका बारेमा प्रतिवेदन तयार हुनेछ ।

गाउँपालिकाको सडक सञ्जाल लुलाङको खोरिया नजिक पुगेको छ । लुलाङ हुुदै सुरूङमार्गस्थलसम्म सडक सञ्जालले जोड्ने गरी योजना बनाइएको छ । ‘असारको दोस्रो साता प्रतिवेदन प्राप्त हुनेछ, त्यसपछि सुरूङमार्गको सम्भावनाका बारेमा थप निर्णय गर्नेछौ’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले भने । सुरूङ मार्गको प्रारम्भिक लागतको अनुमान गरेपछि आगामी आर्थिक वर्षमा बजेट सहितको योजना बनाइने शर्माको भनाइ छ ।

लुलाङको जङ्गलबाट दुई किलोमिटर सुरूङ खनेर गुर्जाको बनथानमा जोड्ने योजना छ । लुलाङबाट देउरालीको उकालीओराली हुदै गुर्जा पुग्न लाग्ने करीब आठ घण्टाको दुरी सुरूङमार्गको निर्माणपछि करीब आधा घण्टामा यात्रा छोटिने छ । सुरूङमार्गले आवतजावत सँगै आन्तरिक तथा बाह्य पर्यटक, छिमेकी जिल्ला बागलुङको ढोरपाटन, रुकुमका बस्ती केही बस्तीका जनतालाई समेत सहज हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)