असार ५, काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेका अभिषेक गिरी र उनको श्रीमति अनिसा गिरीलाई मङ्गलवार विशेष अदालतले सफाई दिएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु चण्डीराज ढकाल र नारायण प्रसाद पोखरेलको इजलासले सफाई दिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले गिरीले २ करोड ९४ लाख ४६ हजार ५ सय ८८ रुपैयाँ ७२ पैसा शुद्धीकरण गरेको आरोप लगाई २०७० साल भदौ २ गते विशेष अदातलमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले विभागबाट खातामा नरहेको रकमलाई पनि विगो बनाई मुद्दा दायर गरिएको ठहर गरेको छ ।
यसैगरी अदालतले सम्पत्ति शुद्धीकरण ऐन, २०६४ लागू हुनुभन्दा अगाडि गिरीको नाममा दर्ता रहेको जग्गा देखाइएकोले त्यस सम्बन्धमा बोल्न नमिल्ने उल्लेख गरेको छ ।