असार ५, काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी ठगी गरेको आरोप लागेका भीएलएनका अध्यक्ष रामकुमार श्रेष्ठले १२ लाख रुपैयाँ धरौटी राखी मङ्गलवार ललितपुर जिल्ला अदालतबाट रिहा भएका छन् ।
न्यायाधीश धनसिंह महराको इजलासले ठगीको आरोप लागेका श्रेष्ठसँग १२ लाख रुपैयाँ धरौटी माग गरेको थियो । २ करोड ७५ लाख २२ हजार रुपैयाँ ठगी गरेको आरोप लगाई सरकारले ३ दिन अघि मुद्दा दायर गरेको थियो ।
इजलासले प्रतिवादी श्रेष्ठले १२ लाख रुपैयाँ धरौटी राखे रिहा गर्न र नराखेमा नियम बमोजिम सिदा दिई थुनामा पठाउन आदेश दिएको थियो । ललितपुर जिल्ला अदालतबाट थाहा भए अनुसार श्रेष्ठले १२ लाख रुपैयाँ नगदै राखी रिहा भएका हुन् ।
यसअघि काठमाडौं जिल्ला अदालतले झण्डै तीन अर्ब रुपैयाँ ठगी गरेको आरोप लागेका श्रेष्ठलाई १० लाख रुपैयाँ मात्र धरौटी मागेको थियो । सो रकम पनि उनले सोही अदालतमा बुझाएका थिए ।