ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नीतिगत व्यवस्थाविना नै बैङ्कासुरेन्स

Jun 24, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा कम्पनी र बैङ्कहरूबीच कानूनी व्यवस्थाविना नै बैङ्कासुरेन्स सम्झौता हुने गरेको पाइएको छ । बीमाको विस्तारसँगै पछिल्लो समय नेपाली बजारमा धमाधम बैङ्कासुरेन्स सम्झौता हुने गरेको छ । तर, बीमा समितिले बैङ्कासुरेन्स गर्न कुनै पनि कानूनी तथा नीतिगत व्यवस्था नभएको बताएको छ । विकसित मुलुकका बैङ्कहरूले बैङ्कासुरेन्समार्फत सोझै बीमा पोलिसीहरू बेच्ने गरेको पाइन्छ । यसको शुरुआत आजभन्दा ३० वर्ष पहिले संयुक्त अधिराज्य अमेरिकाबाट भएको थियो । यो एउटा आधुनिक वितरण प्रणाली हो । नेपालमा पनि केही वर्षदेखि यसको अभ्यास भइरहेको छ । तर, उक्त कार्यक्रम सञ्चालनका लागि बीमा ऐनलगायतका कुनै पनि नीति निर्देशिका व्यवस्था गरिएको छैन । भोलिका दिनमा कुनै कानूनी समस्या आए यसको जवाफदेहिता को हुने भनेर समस्या आउन सक्ने कानूनविद्हरू बताउँछन् । यद्यपि, समितिले यो कार्यक्रम गैरकानूनी भने नभएको बताएको छ । समितिका अनुसार बैङ्कलाई संस्थागत अभिकर्ताको इजाजतपत्र दिइएको छ । सोहीअनुसार उनीहरूले काम गरेकाले यसलाई गैरकानूनी भन्न नमिल्ने समितिको भनाइ छ । तर, बैङ्कहरूले संस्थागत अभिकर्ताको इजाजत लिएर बैङ्कासुरेन्सको काम पनि गर्ने गरेको जानकारहरू बताउँछन् । समितिका निर्देशक राजुरमण पौडेलले यस कार्यक्रमलाई बैङ्कासुरेन्स भनेर झुटो प्रचार गरिरहेको बताए । उनले भने, ‘समितिले बैङ्कासुरेन्स लागू गरेको छैन । बैङ्कहरूले संस्थागत अभिकर्ताको रूपमा काम गर्दै आएका छन् । यसलाई बैङ्कासुरेन्स भन्न मिल्दैन ।’ सोहीअनुसार यसलाई प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ । बैङ्क तथा वित्तीय संस्थासम्बन्धी कानूनअनुसार वित्तीय संस्थाले कुनै पनि बीमकको संस्थागत अभिकर्ताको रूपमा काम गर्न पाउनेछन् । त्यसका लागि संस्थाले आफ्नो प्रबन्धपत्रमा उल्लेख गर्नुपर्ने कानूनमा व्यवस्था रहेको छ । तर, बैङ्कासुरेन्स लागू गर्न बीमा समितिले छुट्टै निर्देशिका जारी गर्नुपर्ने हुन्छ । साथै, नेपाल राष्ट्र बैङ्कले पनि मौद्रिक नीतिमा यसको व्यवस्था गर्नुपर्ने हुन्छ । तब मात्र बैङ्कासुरेन्स लागू गर्न कानूनी आधार हुने बीमा विज्ञहरू बताउँछन् । तर, नेपालमा यस्तो व्यवस्था हुन सकेको छैन । बैङ्कासुरेन्समार्फत बैङ्कहरूले आफ्नो निक्षेपकर्ताको बीमा गर्न सक्छन् । नेपालमा बैङ्किङ पहुँच बढी भएको बैङ्कासुरेन्समार्फत बीमाको पनि पहुँच बढ्ने देखिन्छ । बीमा बजारको आवश्यकताअनुसार नेपालमा पनि यसको महŒव बढ्दै गएको छ । यस्ता कुरालाई दृष्टिगत गर्दै नियामक निकायले निर्देशिका बनाएर बैङ्कासुरेन्सलाई कानूनी दायरा ल्याउनु पर्ने बीमा विज्ञहरूको भनाइ छ । कानूनी व्यवस्थाबिना बैङ्कासुरेन्स सम्झौता गर्दा विभिन्न किसिमका जोखीम हुन सक्ने उनीहरूले बताए । बीमा समितिले बजारको आवश्यकतालाई दृष्टिगत गर्दै बैङ्कासुरेन्ससम्बन्धी निर्देशिका ल्याउने तयारी भएको बताएको छ । के हो बैङ्कासुरेन्स ? बैङ्कासुरेन्स बैङ्क र बीमा कम्पनीबीचको सम्झौता हो । सम्झौताअनुसार बैङ्कले कम्पनीको बीमालेख विक्रीवितरण गर्न पाउँछन् । बैङ्कासुरेन्समार्फत बैङ्कले आफ्ना ग्राहकको बीमा गर्न पाउने व्यवस्था गरिएको हुन्छ । बैङ्कले आफ्नो ग्राहकको बीमा गरेपछि निजको खाताबाट कम्पनीको खातामा बीमाशुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, दाबी भुक्तानी पनि स्वयम् बैङ्कले नै गर्नुपर्ने व्यवस्था गरिएको हुन्छ । यद्यपि, कति रकम बराबरको बीमालेख जारी गर्ने र कति रकम बराबरको दाबी भुक्तानी दिने भन्नेबारे सम्झौतापत्रमा सीमा निर्धारण गर्नुपर्ने हुन्छ । बैङ्कले यो काम गरेबापत कम्पनीबाट निश्चित कमिशन पाउने व्यवस्था हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)