ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कालीगण्डकी कोरिडोर प्रसारण लाइन : प्रभावितलाई साढे ३ करोड मुआब्जा वितरण

Jun 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । कालीगण्डकी कोरिडोर प्रसारण लाइनका प्रभावित बासिन्दालाई मुआब्जा वितरण गरिएको छ । ७ करोड ८६ लाख रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा हालसम्म ३ करोड ६० लाख रुपैयाँ वितरण गरिसकिएको छ । पर्वतको कुश्मा नगरपालिका २ खुर्काेटमा र म्याग्दीको दानामा स्टेशन तथा १ सय ४४ ठाउँका टावर निर्माण गर्दा लिइएको जग्गाका धनीलाई निर्धारण गरिएको जग्गाको मूल्यअनुसारको मुआब्जा वितरण गरिएको हो । आयोजना प्रमुख चन्दकुमार घोषका अनुसार पर्वतका ५७ जनालाई १ करोड र म्याग्दीका ४२ जनालाई २ करोड ६० लाख रुपैयाँ मुआब्जाबापतको रकम हस्तान्तरण गरिएको हो । थप ७६ घरधूरीलाई ३ करोड २३ लाख रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेको घोषले बताए । उनका अनुसार आयोजनाले ९३ रोपनी जग्गा अधिग्रहण गर्नेछ । ‘जग्गाधनी सम्पर्कमा नआउँदा सबै रकम एकै पटक बुझाउन समस्या भयो,’ घोषले भने, ‘पर्वत र म्याग्दी जिल्ला प्रशासनबाट मुआब्जा वितरणको काम भइरहेको छ । वनको समस्याका कारण पनि काम गर्न अप्ठ्यारो भइरहेको छ ।’ धवलागिरि अञ्चलका जिल्लाका ठूला तथा साना नदी र खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न यो आयोजना निर्माण गर्न लागिएको हो । उक्त प्रसारण लाइनअन्तर्गत हाल ९ ओटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । प्रसारण लाइन र सबस्टेशनसँगै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाएको छ । आयोजनाले म्याग्दीको दानादेखि पर्वतको खुर्कोट सबस्टेशनमा जोड्छ । त्यस्तै खुर्कोट सबस्टेशनबाट पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रूपन्देही र नवलपरासी हुँदै बुटवल सबस्टेशनमा जोडिएर राष्ट्रिय प्रसारणमा पुर्‍याइने निर्माण कम्पनी टाटा प्रोजेक्टका प्रतिनिधि अर्जुन गुरुङले बताए । दाना–खुर्कोट सबस्टेशनको दूरी ३९ किलोमिटर र खुर्कोट–बुटलवको दूरी ८८ किमी छ । सन् २०१६ मे ३० मा निर्माणको काम थालिएको आयोजना सन् २०१८ नोभेम्बरको अन्तमा निर्माण सक्नुपर्ने लक्ष्य छ । भूकम्प र नाकाबन्दीको असर र अन्य प्राविधिक कठिनाइका बावजुद काम धमाधम भइरहे पनि तोकिएको मितिमा आयोजनाको काम सकिने देखिएको छैन । हालसम्म ४० प्रतिशत मात्रै काम सकिएको आयोजनाका प्राबिधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले जानकारी दिए । टाटा प्रोजेक्ट्स र चिण्ट इलेक्ट्रिक जेभीले २ अर्ब ९० करोडमा आयोजना सम्पन्न गर्ने ठेक्का सम्झौता छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)