एलएलबीको भर्ना सम्बन्धि भएको निर्णय स्थगन गर्न सर्वोच्चको आदेश
Jul 6, 2018
 
समाचार
असार २२, काठमाडौं । नेपाल ल क्याम्पसमा एलएलबी प्रथम वर्षको भर्नाका लागि प्रवेश परीक्षा दिने सम्पूर्णलाई भर्ना गर्ने गरी भएको निर्णय हाल स्थगन गर्न सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय लगायतका निकायलाई आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीस दिपकराज जोशीको एकल इजलासले सो आदेश दिएको हो ।
एलएलबी प्रथम वर्षका लागि भर्ना हुन आठ हजार परीक्षार्थीले परीक्षा दिएको बताइन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कानून सङ्काययले शुरुमा आठ सय जनालाई मात्र भर्ना गर्ने निर्णय गरेको थियो पछि यहि असार १४ गते सम्बन्धित पदाधिकारीहरु बसेको बैठकले प्रवेश परीक्षा दिने सम्पूर्णलाई भर्ना गर्ने निर्णय गरेको थियो । त्यसरी गरेको निर्णयले गुणस्तरीय शिक्षा प्राप्त गर्न नसक्ने उल्लेख गर्दै विद्यार्थी कृतज्ञा ढकाल समेतले सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्च अदालतले असार १४ गते गरेको निर्णय हाल स्थगन गर्न आदेश दिएको छ । सो आदेशलाई निरन्तरता दिने नदिने भन्ने सम्बन्धमा आउदो साउन १७ गते रिट निवेदक र त्रिभुवन विश्वविद्यालय समेतलाई सर्वोच्च अदालतले छलफलको लागि बोलाएको छ ।