असार २९, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दायर गरेको रिट निवेदन फिर्ता लिन सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ ।
सर्वोच्च अदालत स्रोतले दिएको जानकारी अनुसार झा आफैंले उक्त रिट निवेदन फिर्ता लिन शुक्रवार निवेदन दिएका हुन् । केही दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले देउवा सरकारले निर्वाचन आचार संहिता लागू भएपछि नियुक्त गरेको उल्लेख गर्दै झालाई हटाउने निर्णय गरेको थियो ।
सरकारी सो निर्णयविरुद्ध झाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो रिट निवेदनको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले झालाई हटाउने निर्णय आगामी साउन ३ गतेसम्म कार्यान्वयन नगर्न बिहीवार अन्तरिम आदेश दिएको थियो ।
त्यसरी अन्तरिम आदेश दिएको भोलिपल्टै झाले आफ्नो रिट निवेदन फिर्ता लिन निवेदन दिएका सर्वोच्च अदालत स्रोतले आर्थिक अभियानलाई जानकारी दियो । हाल सो निवेदन दर्ता भएको छ । ‘रिट निवेदन फिर्ता हुने वा नहुने भन्ने सम्बन्धमा पछि थाहा हुनेछ,’ सर्वोच्च अदालत स्रोतले भन्यो । सर्वोच्च अदालतले अन्तरिम आदेश दिदा झालाई पूर्ववत् रुपमा प्राधिकरणमा काम गर्न दिन उल्लेख गरेको थियो ।