साउन १, धनगढी । नवजीवन सहकरी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४/०७५ को कुल करोबारबाट रू. १२ करोड १८ लाख ८३ हजार मुनाफा आर्जन गरेको छ । कैलालीको धनगढीमा रहेको केन्द्रिय कार्यालयसहित पाँचओटा शाखा कार्यालयबाट उक्त मुनाफा आर्जन भएको नवजीवन सहकारी संस्था लिमिटेडका महाप्रबन्धक मोहनराज भट्टले जानकारी गराए ।
सहकारीले मङ्गलवार धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महाप्रबन्धक भट्टले गत आर्थिक वर्षभन्दा ३७ प्रतिशतले मुनाफा वृद्धि भएको बताए । सहकारीले आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४÷०७५ मा ९ दशमलव २६ प्रतिशतले निक्षेप वृद्धि, ५ दशमलव ३६ प्रतिशत कर्जा वृद्धि तथा १४ दशमलव ९२ प्रतिशले शेयर पूँजी वृद्धि गर्न सफल भएको अध्यक्ष चक्रबहादुर सिंहले जानकारी गराए । कुल १७ हजार ७ सय चार शेयर सदस्य रहेको नवजीवनको रू. २ अर्ब ३७ करोड निक्षेप, रू. २ अर्ब २९ करोड ऋण लगानी, रू. १६ करोड २ लाख शेयर पूँजी, रू. १९ करोड ९० लाख जगेडा तथा अन्य कोष रहेको महाप्रबन्धक भट्टले जानकारी गराए ।
सो अवधिसम्ममा सहकारीको भाखा नाघेको कर्जाको अंश १ दशमलव ३७ प्रतिशत, बाँकी ब्याज २ दशमलव १९ प्रतिशत, तरलता ३२ प्रतिशत तथा सिडि रेसियो ८५ दशमलव ७७ प्रतिशत रहेको तथ्याङ्क छ ।