काठमाडौं । ५१ वर्षअघिदेखि उत्पादन शुरू गरेको त्रिशूली जलविद्युत् केन्द्रलाई सुदृढीकरण गरिने भएको छ । भारत तथा नेपाल सरकारद्वारा संयुक्तरूपमा निर्मित केन्द्रको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सुदृढीकरण गर्न लागिएको हो ।
पुरानो प्रविधि भएका कारण पर्याप्त पानी हुने वर्षायाममा समेत केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको छैन । ७ ओटा युनिटसहित २४ मेगावाट (मेवा) कुल विद्युत् उत्पादन क्षमता भए पनि केन्द्रले दैनिक करीब १८ मेवा मात्रै उत्पादन गर्दै आएको छ ।
समय सापेक्षित डिजाइन र प्रविधिसहित सुदृढीकरण गरी विद्युत् उत्पादन क्षमता पनि बढाउने तयारी रहेको केन्द्रले जानकारी दिएको छ । ‘पुरानो प्रविधिमा निर्मित आयोजना भएकाले क्षमताअनुसारको विद्युत् उत्पादन हुन सकेको छैन,’ केन्द्र प्रमुख तारादत्त भट्टले भने, ‘नयाँ प्रविधिसहित सुदृढीकरणपछि क्षमतामा पनि राम्रो सुधार आउने विश्वास छ ।’
अहिले एकपटकमा ६ ओटा युनिट सञ्चालन गरी एउटा स्ट्याण्डबाई राख्ने गरिएको छ । केन्द्रको टेलरेसबाट निस्किएको पानीबाट सञ्चालनमा रहेको देवीघाट जलविद्युत् केन्द्र (१४ मेवा)का कारण त्रिशूली पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो । दुई केन्द्रबीचको भौगोलिक अवस्थाका कारण त्रिशूलीका सबै युनिट सञ्चालन गर्दा निस्किने पानी देवीघाट केन्द्रले धान्न नसकी फर्किन्छ । यसले गर्दा त्रिशूलीको एउटा युनिट नचलाउने गरिएको केन्द्रले जानकारी दिएको छ । सुदृढीकरणपछि यो समस्या पनि समाधान हुने अपेक्षा गरिएको छ ।
‘आवश्यक अध्ययनका लागि प्रारम्भिक छलफल चलिरहेको हुँदा के कसरी सुदृढीकरण गर्नेदेखि अनुमानित लागतलगायतका विषयमा टुङ्गो लाग्न बाँकी नै छ,’ केन्द्र प्रमुख भट्टले भने ।
मर्मतपछि केन्द्र सञ्चालनमा
गत असार २६ गते विद्युत्गृहको कण्ट्रोल प्यानलस्थित ब्रेकरमा आगलागी भई बन्द भएको त्रिशूली जलविद्युत् केन्द्र मर्मतपछि सञ्चालनमा आएको छ । आगलागी निभाउने क्रममा पानीले असर पुगेका ४ युनिटमध्ये ३ ओटा सोमवार र एउटा मङ्गलवारदेखि सञ्चालनमा आएको केन्द्र प्रमुख भट्टले जानकारी दिए ।
यससँगै केन्द्रले १२ मेवा क्षमतामा विद्युत् उत्पादन शुरू गरेको छ । त्रिशूली केन्द्र सञ्चालनमा आएपछि देवीघाट केन्द्र पनि चालू भएको छ । आगलागीले एउटा ट्रान्सफर्मरको साइट ब्रेकरमा क्षति पुगेकाले नयाँ ब्रेकर जडान गरी पूर्ण क्षमतामा विद्युत्गृह सञ्चालन गर्ने तयारी भइरहेको भट्टले बताए ।
यसका लागि अझै करीब ५ दिन लाग्ने उनको भनाइ छ । आगलागीबाट १ करोडभन्दा माथिको क्षति भएको केन्द्रको दाबी छ ।