ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक सहायता बढ्दो : ४ महीनामा रू. ५० अर्ब

Jul 22, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । वैदेशिक सहायता भित्रिने क्रम पछिल्लो समय बढिरहेको बेला केपी शर्मा ओली नेतृत्वको सरकार गठनयता त्यस्तो सहायता ५० अर्ब रुपैयाँको हाराहारीमा भित्रिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार आर्थिक वर्ष (आव) २०७४/७५ को चैतदेखि असारसम्ममा उक्त सहायता भित्रिएको हो । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वर्षमा त्यस्तो सहायता अझ बढाउँदै लैजाने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाइने जानकारी दिए । डा. खतिवडाले विदेशबाट पूँजी भित्र्याउन नसकेसम्म बैङ्कको ब्याजदर घट्न नसक्ने पनि बताए । उनले भने, ‘३० खर्ब रुपैयाँको अर्थतन्त्र छ । त्यसको १५ प्रतिशत बचत हुने भनेको जम्मा चार÷साढे चार खर्ब मात्र हो । त्यसमा १ सय ७२ अर्ब रुपैयाँ सरकारले नै लिन्छ । ब्याजदर जसरी बढिरहेको छ त्यसलाई नियन्त्रण गर्न हाम्रो पूँजी पर्याप्त हुँदैन । त्यसका लागि बाह्य पूँजी परिचालन गर्नुपर्छ ।’ डा. खतिवडाले नेपालमा खुलेका भारतीय संयुक्त लगानीका बैङ्कले भारतीय मुद्रामा ऋण ल्याई नेपालमा लगानी गर्न सक्ने बताए । अर्थमन्त्री खतिवडाका अनुसार लगानीका लागि मुलुकमा उपयुक्त वातावरण बनाउने काम सरकारले गरिरहेको छ । मुलुकको आर्थिक विकासमा सरकारले निजीक्षेत्रको लगानीलाई पनि प्रमुख प्राथमिकतामा राख्ने नीति अबलम्बन गरेको उनको भनाइ छ । वित्तीय हस्तान्तरणको माध्यमबाट स्थानीय र प्रदेश सरकारलाई आवश्यक बजेटको व्यवस्था गर्दै आएको बताउँदै अर्थमन्त्रीले बजेट अभाव हुन नदिने उल्लेख गरे । उनका अनुसार स्थानीय तहमा करको दायरा तत्काल बढाउन सकिने अवस्था छैन । तर स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने योजनामा सङ्घीय सरकार छ । अर्थमन्त्रीले बजार मूल्यलाई प्रभावित गर्ने मूल्य अभिवृद्धि कर (भ्याट) सरकारले नबढाएको स्पष्ट गर्दै भ्याट फिर्ताको व्यवस्थाका कारण केही वस्तुको मूल्यमा सामान्य हेरफेर भएको स्पष्ट पारे । राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले गत आर्थिक वर्षमा राजस्व सङ्कलन २० दशमलव ९ प्रतिशतले बढेको बताए । सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलनमा सुधार भएको उनले जानकारी दिए । उनका अनुसार गत आवमा भ्याट सङ्कलन २९ प्रतिशतले बढेको छ । यस्तै भन्सार राजस्वमा २१ दशमलव ७ प्रतिशत र अन्तःशुल्कमा २१ प्रतिशतले सुधार भएको छ । सरकारी खातामा जम्मा भएको आयकर ७ प्रतिशत र गैह्रकर राजस्व सङ्कलन १७ दशमलव ९ प्रतिशतले बढेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)