ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ईट्टा उद्योगमा बालश्रम अन्त्य गर्ने समझदारी बन्यो

Jul 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

साउन १४, काठमाडौं । मुलुकभरका ईट्टा उद्योगमा बालश्रमको अन्त्य गरिने भएको छ । सरकार र इट्टा उद्योगीबीचको छलफलपछि त्यस्ता उद्योगलाई बालश्रम मुक्त राख्ने समझदारी बनेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्ण विष्टले मुलुकभर सञ्चालनमा रहेका ११ सय ईट्टा उद्योगलाई बालश्रम मुक्त बनाउन उद्योगीसँग समझदारी बनेको जानकारी दिए ।

हालै नेपाल सरकारले बालश्रम निवारण राष्ट्रिय गुरुयोजना सम्बन्धी दश वर्षे रणनीति लिएअनुसार पहिलो चरणमा ईट्टा उद्योगबाट सरकारले प्रभावकारी रुपमा बालश्रम निवारणको काम थालेको मन्त्री विष्टको भनाइ छ । विष्टले ईट्टा उद्योगमा कहिँ कतै बालश्रमको प्रयोग भए/नभएको बारे श्रम कार्यालयबाट अनुगमन गर्ने जानकारी दिँदै त्यस्तो पाइए कानून अनुसार कारबाही गरिने बताए ।

सो कार्यक्रममा सरकारको बालश्रम निवारण सम्बन्धी लक्ष्यलाई पूरा गर्न ईट्टा उद्योगी प्रतिबद्ध रहेको नेपाल ईट्टा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिए । उनका अनुसार हाल काठमाडौंमा मात्रै १ सय १० ईट्टा उद्योग रहेका छन् । उपत्यकासहित देशभर रहेका त्यस्ता उद्योगमा बालबालिकालाई श्रममा नलगाउन महासङ्घले पत्रचार गरेको जानकारी दिँदै चित्रकारले त्यस्तो भेटिए कारबाही गरिने बताए ।

मन्त्रालयका अनुसार सरकारको गुरुयोजनामा वि.सं. २०७९ सम्म अमर्यादित र शोषणयुक्त बालश्रमको अन्त्य गरिने र वि.सं. २०८२ सम्म सबै प्रकारका बालश्रम निवारण गर्ने लक्ष्य छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ मा पारित बाल अधिकार सम्बन्धी महासन्धिमा पनि सरकारले बालअधिकारलाई पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेको छ । तर अन्य क्षेत्रमा भन्दा ईट्टा उद्योगमा बालबालिकाको प्रयोग ज्यादा रहेको भन्दै आवाज उठेपछि मन्त्रालयले त्यस्ता क्षेत्रलाई बालश्रम मुक्त राख्न पहल अघि बढाएको हो । श्रम मन्त्रालयका अनुसार चालू आर्थिक वर्षबाट ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गर्न लागिएकाले उक्त कार्यक्रममा बाल श्रम प्रयोग नहुने वातावरण सृजना गर्न लागिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)