ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किसानको उत्पादन सरकारले किन्ने

Aug 1, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

साउन १६, रुकुम । किसानका उत्पादन अब सरकारले किन्ने भएको छ । रुकुम पश्चिमको चौरजहारीका किसानले उत्पादन गरेको सबैखाले कृषि तथा पशुजन्य उत्पादनहरू स्थानीय सरकारले किन्ने भएको हो । कृषिजन्य उत्पादनहरूको विक्री वितरणमा समस्या भएको जनगुनासो बढेपछि चौरजहारी नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

गत असार १० गतेको नगर सभाले किसानका सबै उत्पादन व्यवस्थापनको जिम्मा स्थानीय सरकारले लिने निर्णय गरेको जानकारी दिइएको छ  । नगरपालिकाले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाएको चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले बताए । उनले भने, ‘आफ्ना उत्पादन विक्री नभएको गुनासो किसानले गर्न थालेपछि यस्तो व्यवस्था गरिएको हो ।’ कृषिजन्य उत्पादन व्यवस्थापनको जिम्मा नगरले लिएपछि किसानलाई प्रोत्साहन हुने र आर्थिक समृद्धिमा टेवा पुग्नुका साथै किसानको जग्गा बाँझो नरहने नगर प्रमुख शर्माको भनाई छ ।

यसका लागि कृषि उत्पादन शुरु गर्नुअघि किसानले आफूले उत्पादन गर्न लागेको बाली वा पशुजन्य वस्तुको पूरा विवरण सरकारलाई जानकारी गराउनुपर्ने शर्त राखिएको छ । त्यस्तै व्यक्ति, समूह वा सहकारीको उत्पादन निर्वाहमुखी नभई व्यावसायिक हुनुपर्ने नियम पनि बनाइएको छ । किसानले उत्पादनबारे जानकारी गराएपछि त्यसै अनुसार बजारको खोजी गर्न र त्यसको व्यवस्थापन गर्न सजिलो हुने नगर सभाको निष्कर्ष छ ।

नगरपालिकाले तयार गरेको फारम भरेर कृषि वा पशुजन्य उत्पादन गर्ने किसानका उत्पादन विक्रीका लागि बजार बनाउने, त्यसको व्यवस्थापनका लागि पहल गरिदिने अन्तिमसम्म पनि विक्री हुने सम्भावना नभए त्यसको मूल्य नगरपालिका आफैंले तिर्नेछ ।

यसका लागि नगर सभाले चालू आर्थिक वर्षका लागि १ करोड १५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । किसानलाई अनुदान, ऋण तथा समायोजनको साथै उनीहरूको उत्पादन किन्नका लागि पनि बजेटको व्यवस्था गरिएको हो । नगरपालिका भित्रका बैङ्क तथा वित्तीय संस्थालाई कृषि र पशु क्षेत्रमा ऋण दिन तथा ऋण बढाउनका लागि पनि नगरपालिकाले सहजीकरणको काम शुरु गरेको जानकारी दिएको छ । सरकारले गरेको यो निर्णयले किसानलाई व्यावसायिकतामा जोड दिन प्रोत्साहन गर्ने स्थानीयले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)