ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वन विभागका कारण भूमिगत प्रसारण लाइनको काम प्रभावित

Aug 6, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । मातातीर्थमा निर्माणाधीन भूमिगत प्रसारण लाइनको काम वन विभागका कारण प्रभावित हुने देखिएको छ । सो प्रसारण लाइन बनाउन ३ सय ३६ ओटा रूख तत्काल काट्नुपर्ने भए पनि विभागले स्वीकृति दिन ढिलाइ गर्दा आयोजना निर्माणको काम प्रभावित हुने देखिएको हो । सो प्रसारण लाइनको अनुगमन गर्न आइतवार निर्माणस्थल पुगेका ऊर्जामन्त्री वर्षमान पुनलाई आयोजनाका अधिकारीहरूले तत्काल समस्या हल नभए समस्या सृजना हुने जानकारी गराएका थिए । समस्या सुनेलगत्तै समस्याको तत्काल समाधानका लागि ऊर्जामन्त्री पुनले वनमन्त्री शक्तिबहादुर बस्नेतलाई फोन गरेर आग्रह गरेका थिए । ऊर्जामन्त्रीले वनमन्त्रीलाई मातातीर्थको भूमिगत प्रसारण लाइनको वनसम्बन्धी समस्या छिटो समाधानका लागि तत्काल प्रक्रिया मिलाई पहल गरिदिन आग्रह गरेको स्रोतले बतायो । उनले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन आफूले गृहमन्त्रीसँग कुरा गरिसकेकोसमेत बताएका थिए । ऊर्जासचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लिएर अनुगमनमा निस्किएका पुनले २ महीनाभित्र आयोजनाको काम पूरा गर्नेगरी काम गर्न पनि ठेकेदारलाई निर्देशन दिए । त्रिशूली कोरिडोरमा उत्पादित विद्युत् प्रवाह गर्ने मुख्य तथा महत्त्वपूर्ण लाइन भएकाले तोकेको समयभित्र पूरा हुनुपर्नेमा ऊर्जामन्त्रीको जोड छ । १ हजार ३ सय ९ मिटर भूमिगत लाइनमध्ये अहिलेसम्म करीब ६ सय ३० मिटरमात्र पूरा भएको छ । यो त्रिशूली–काठमाडौं २ सय २० केभी प्रसारण लाइनको एउटा खण्ड हो । स्थानीयलाई असर नपर्ने गरी निर्माण भइरहेको यो देशकै पहिलो भूमिगत प्रसारण लाइन हो । त्रिशूली–काठमाडौं प्रसारण लाइनमा निर्माण हुने १ सय ४० टावरमध्ये १ सय २७ ओटाको निर्माण पूरा भइसकेको छ । विद्यमान समस्या समाधान भए तोकिएको समयमा काम पूरा हुने आयोजनाका अधिकारीले प्रतिबद्धता व्यक्त गरेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)