रुकुम । गत आइतवार अस्पतालमा उपचाररत बिरामीको ज्यान गएपछि चौरजहारी अस्पतालमा उपलब्ध सबै उपचार सेवा ठप्प भएको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले अस्पतालका संरचना तोडफोड गरेपछि नियमित सेवा प्रवाह बन्द भएको हो । अस्पतालमा सेवा रोकिएपछि अस्पताल भर्ना भएका बिरामीको अवस्था नाजुक बन्दै गएको छ ।
भर्ना भएका २ दर्जन बिरामीमध्ये अहिले १० जना मात्र वार्डमा छन् । नियमित औषधि चलाउनेबाहेक उनीहरूको थप परीक्षण तथा उपचार हुन सकेको छैन । जाजरकोटको भेरी नगरपालिका–१३, कुदुकी मृतक यशोदा मल्ल रोकायको शव ४ दिनसम्म पनि आफन्तले बुझ्न मानेका छैनन् ।
उपचार नपाउँदा अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारका लागि आउने नयाँ बिरामी भर्ना गर्न अस्पतालले मानेको छैन । मृतकका आफन्त र प्रहरीबीच भएको पटक–पटकको झडपबाट बिरामी अस्पतालमा बस्न सक्नसमेत डराएका छन् । यद्यपि, आर्थिक अभावको कारण उपचारका लागि बाहिर जान सक्ने अवस्था उनीहरूको छैन ।
मृतकका आफन्तले आइतवार र सोमवार अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडपछि आइतवारदेखि नै अस्पतालको उपचार सेवा बन्द छ । आफन्त र अस्पताल प्रशासनबीच तीन पटक भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।
अस्पतालबाट कुनै पनि प्रकारका सेवा सुचारु नहुँदा रुकुम, सल्यान, जाजरकोट र डोल्पाबाट उपचारका लागि आएका सयौं बिरामी मर्कामा परेका छन् । कतिपयले स्थानीय मेडिकलमा उपचार गराइरहेका छन् भने केही बिरामी नेपालगञ्ज जान बाध्य भएका छन् ।
तोडफोडबाट अस्पतालमा ठूलो क्षति पुगेका कारण सेवा प्रवाह गर्न नसकिएको अस्पताल स्रोतले बताएको छ । अस्पतालका डाक्टर कालेब बुढाका अनुसार ४ दिनमा जटिल समस्या भएर आएका चार जनालाई नेपालगञ्जको अस्पतालमा ‘रिफर’ गरिएको छ ।