साउन २४, काठमाडौं । विशेष अदालतले गुण्डा नाइके गणेश लामालाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले उनलाई १ वर्ष कैद गर्न फैसलामा उल्लेख गरेको छ । २७ करोड बिगोमा उनले १ करोड ४० लाख ५० हजार रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको देखिएको फैसलामा उल्लेख गरिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले २०६७ असार २० मा लामाविरुद्ध मुद्दा नचल्ने भनी राय दिएको थियो । पछि सम्पत्ति शुद्धीकरण विभागले लामाको सम्पत्तिमध्ये २७ करोड १ लाख ६१ हजार ८५ रुपैयाँ ६० पैसा शुद्धीकरण गरेको आरोप लगाई २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
यति धेरै बिगोमध्ये लामाबाट जम्मा १ करोड ४० लाख ५० हजार रुपैयाँ मात्र शुद्धीकरण भएको भनी फैसला गर्दा विशेष अदालतले २ ओटा आधार लिएको छ । महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने भनी राय दिनु र सम्पत्ति शुद्धीकरण ऐन, २०६४ आउनुपूर्व कमाएको सम्पत्तिलाई पनि बिगो कायम गरी मुद्दा दायर गरेकोले बिगोभन्दा थोरै रकम शुद्धीकरण गरेको देखिएको विशेष अदालतले उल्लेख गरेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले लामा र उनको परिवारको नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रशस्त लगानी रहेको आरोप लगाएको थियो । काठमाडौं, ललितपुर र भक्तपुरमा २ सय रोपनीभन्दा बढी जग्गा रहेको पनि विभागले आरोपपत्रमा उल्लेख गरेको थियो ।
विभागले गुण्डा नाइकेमध्ये ५ जनाले सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाई विभिन्न मितिमा विशेष अदालतमा बेग्लाबेग्लै मुद्दा दायर गरेको थियो । यसभन्दा अघि ४ जनाले विशेष अदालतबाट सफाइ पाइसकेका छन् । सफाइ पाउनेमा दीपक मनाङ्गे भनिने राजीव गुरुङ, चक्रे मिलन, पर्शुराम बस्नेत र अभिषेक गिरी छन् । विशेष अदालतका एक कर्मचारीले भने, ‘गुण्डा नाइकेमध्ये लामाले मात्र केही मात्रामा सम्पत्ति शुद्धीकरण गरेको देखियो । अन्य ४ जनाले भने यसअघि नै सफाइ पाइसकेका छन् ।’
सफाइ पाएका ती ४ जनाको सम्पत्तिमध्ये धेरैजसो सम्पत्ति शुद्धीकरण ऐन आउनुपूर्व नै कमाइ भएको देखिएको विशेष अदालतले उल्लेख गरेको छ । सो ऐन २०६४मा जारी भएको हो । पाँचै जना गुण्डा नाइकेविरुद्ध २०७० साल वरपर मुद्दा दायर गरिएको हो ।