साउन २८, काठमाडौैं । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई उपस्थित गराउन सोमवार सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।
आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै उनका छोरा नरेन्द्रबहादुरद्वारा आइतवार सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो । रिट निवेदनको प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले प्रकाण्डलाई उपस्थित गराउन आदेश दिएको हो । प्रकाण्डलाई पक्राउ गर्नाका कारण लिखित रुपमा पेश गर्न पनि आदेश दिएको छ ।
प्रकाण्डका छोराद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा राजनीतिक पूर्वाग्रही भएर गृहमन्त्रीको ठाडो निर्देशनमा आफ्ना बाबुलाई पक्राउ गरिएको दाबी गरिएको थियो । रिट निवेदनमा हाल प्रकाण्डलाई राजनीतिक तथा विचारको आधारमा चन्दासम्बन्धी बनावटी र झुट्टा मुद्दा लगाई जिल्ला अदालतबाट म्यादसमेत लिई थुनामा राखिएको आरोप लगाइएको छ ।