ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दिगो यातायात प्रालि : १७ बस आजदेखि सञ्चालनमा

Aug 14, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । दिगो सार्वजनिक यातायात प्रालिले मङ्गलवार (आज)देखि १७ ओटा बस सञ्चालनमा ल्याउँदै छ । रूट डिजिटलाइजेशनको प्रारम्भिक अध्ययनबाट स्थापित ६६ रूटमध्ये गोंगबु (नयाँ बसपार्क)–भद्रकाली–सिनामङ्गल–तीनकुने–कोटेश्वर रूटसम्म अब कम्पनीका बसहरू सञ्चालन हुनेछन् । यसअघि उक्त कम्पनीले गोंगबु–भद्रकाली–सिनामङ्गलसम्म रूट पाएको थियो । अहिले यसमा संशोधन भएर सिनामङ्गल हुँदै तीनकुने–कोटेश्वरसम्म यी बस पुग्ने कम्पनीका सचिव लालप्रसाद गुरागाईंले जानकारी दिए । सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन धेरै सीट क्षमता भएका सवारीलाई प्राथमिकतामा राखिएअनुसार अहिले यी बस सञ्चालनमा आएका हुन् । सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएर देशैभर रूट पर्मिट खुला गरेअनुसार उक्त कम्पनीले रूट विस्तार गरेर कोटेश्वरसम्म पुगेको हो । कम्पनीका सचिव गुरागाईंले सोमवार बस सञ्चालनको औपचारिक उद्घाटन भएको बताए । उनले भने, ‘यातायात व्यवस्था विभागले उपलब्ध गराएको रूटमा हामी नियमित रूपमा यात्रुहरूको सुविधालाई ध्यानमा राखेर बस सञ्चालन गर्छौं । उनका अनुसार कम्पनीका बसहरू बिहान ५ बजेदेखि राति ९ बजेसम्म ननस्टप सञ्चालन हुनेछन् । काठमाडौंका २ सय ६४ रूटलाई व्यवस्थित गरी ६६ ओटा रूटमा झारिएको थियो । सोहीअनुसार पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा यो रूटमा ठूला बस सञ्चालनमा ल्याइएको हो । गुरागाईंका अनुसार उक्त रूटमा सञ्चालन भएका २६ माइक्रोबसलाई ट्रसिअरी रूटको ६, ७ र ८ मा स्थानान्तरण गरिएको छ भने ३५ टेम्पोलाई ट्रसिअरी रूटकै १८ र १९ क्षेत्रमा स्थानान्तरण गरिएको छ । सरकारले उक्त रूटमा सञ्चालनमा आएका माइक्रो र टेम्पोलाई विस्थापित गरेर ठूला बस सञ्चालन गर्ने गृहकार्य गरेको थियो । सञ्चालनमा नआउँदै कम्पनी रू. ५ लाख घाटामा मङ्गलवारदेखि नियमित रूपमा सञ्चालनमा आउने गरी बस सेवा प्रवाह गरेको दिगो सार्वजनिक यातायात प्रालिले रू. ४ लाख ९८ हजार घाटा बेहोर्नु परेको कम्पनीका सचिव लालप्रसाद गुरागाईंले जानकारी दिए । उनले गत असार १५ गतेसम्ममा ल्याइएका बसहरू समयमै सञ्चालनमा आउन नसक्दा हालसम्म कम्पनीले उक्त घाटा बेहोर्नु परेको बताए । अहिले कम्पनीको चुक्तापूँजी रू. ७ करोड ८५ लाख रहेको छ । गत माघमा अभियानसँगको कुराकानीका क्रममा काठमाडौं दिगो शहरी आयोजनाअन्तर्गतको आयोजना व्यवस्थापन तथा समन्वय कार्यालयका आयोजना निर्देशक अनन्त आचार्यले ती बसमा एशियाली विकास बैङ्क (एडीबी)को १५ प्रतिशत अनुदान र बस निर्माण कम्पनीको ५ प्रतिशत लगानी रहने बताएका थिए । बाँकी ८० प्रतिशत लगानी भने ५ प्रतिशत ब्याजमा ऋण लिएर जुटाइएको छ । एउटा बस रू. ४१ लाखमा खरीद गरिएको बताइएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)