भदौ ३, काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशकबाट हटाइएकी कामिनी राजभण्डारीलाई पुनः सोही पदमा फर्काएर काममा लगाउन गरिएको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले राजभण्डारीलाई टेलिकमको प्रवन्ध निर्देशकमा पुनः फर्काइ काममा लगाउन गरिएको मागलाई अस्वीकार गरेको हो । सरकारले पटक–पटक स्पष्टीकरण लिई राजभण्डारीलाई प्रबन्ध निर्देशकबाट हटाएको थियो ।
आफूलाई गैरकानूनी रुपमा प्रबन्ध निर्देशकबाट हटाइएको दाबी गर्दै गत शुक्रवार राजभण्डारीद्वारा सर्वोच्च अदालतमा रिट निवदेन दायर गरिएको थियो । रिट निवेदनमा अन्तरिम आदेशबाट आफूलाई सो पदमा तत्काल काममा फर्काउन आदेश दिन माग गरिएको थियो । सर्वोच्च अदालतले भने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश जवराको इजलासले उनलाई हटाउनु पर्नाको कारण १५ दिन भित्र पेश गर्न सरकारलाई आदेश दिएको छ ।