भदौ ३, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित नजरपुर गाँउ बिउ बिजन उत्पादनका लागि प्रसिद्ध बन्दै गएको छ । एक निजी तथा दुई ओटा सहकारीले यस क्षेत्रमा धान तथा गहुँको बिउ उत्पादन गर्दै आएका छन् ।
श्रीकृष्ण कृषि सहकारी संस्थाकी व्यवस्थापक जसोदा तिमल्सिनाका अनुसार वार्षिक ४ सय टन धान र २ सय टन गहुँको बिउ उत्पादन हुने गरेको छ । वार्षिक १ करोड रुपैयाँको बिउ उत्पादन हुने र उत्पादन भएका बिउ पूर्वमा झापा र पश्चिममा भैरहवासम्म पुग्ने गरेको उनको भनाइ छ । शुरुआतमा कृषि अनुसन्धान केन्द्रसँग समन्वय गरी बिउ ल्याउने र किसानलाई निःशुल्क उपलब्ध गराउने गरिएको छ । उक्त बिउबाट उत्पादित बालीलाई सङ्कलन र प्रशोधन गरी बिउ बनाउने गरेको तिमल्सिनाले बताईन् ।
यहाँ उत्पादित धानको बिउले प्रतिकट्ठा ४ देखि ५ मन धान उत्पादन दिने बताउँदै उनले खेतीमा समस्या हुन नदिन स्थानिय स्तरमा दुई कृषि प्राविधिक नियक्त गरेको र समय समयमा कृषि अनुसन्धान केन्द्रबाट समेत निरिक्षण हुने गरेको जानकारी दिइन् ।
स्थानिय तहसँग समन्वय गरी कृषि उत्पादनमा वृद्धि गर्ने योजना रहेको संस्थाकी अध्यक्ष अम्बिका तिमल्सिनाले बताईन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ९ र १० को ९५ हेक्टरमा बिउ उत्पादनका लागि धान र गहुँको खेती हुने गरेको उनको भनाइ छ ।
यस क्षेत्रमा श्रीकृष्ण कृषि सहकारीसँगै सामुदायिक बिउ बिजन सहकारी र सामुहिक बिउ बिजन कम्पनीले सावित्री, हर्दिनाथ १, राधा ४, मकवानपुर १, सुख्खा २ र ५, स्वर्ण सव १, सोनालगायत प्रजातिका धानको बिउका साथै विभिन्न प्रजातिका गहुँको बिउ समेत उत्पादन गर्दै आएका छन् ।