काठमाडौं । कुनै संस्थामा कार्यरत व्यक्तिले गरेको कार्यबाट कसैलाई हानिनोक्सानी पुगेमा त्यसको जिम्मेवार सम्बन्धित संस्था नै हुनेगरी नौलो कानून लागू भएको छ । सम्बन्धित संस्थाले जिम्मेवारी वहन गर्न भने त्यस्तो कार्य सम्बन्धित कामदारले असल नियतले गरेको हुनुपर्नेछ ।
नेपालमा यही भदौ १ गतेबाट दुष्कृति (टर्टस्) सम्बन्धित नौलो कानून लागू भएको हो । कुनै कामदारले कुनै संस्थाको उद्देश्य प्राप्तिका लागि असल नियतले कार्य गर्दा कसैलाई हानिनोक्सानी हुन्छ भने त्यसको जिम्मेवारी सम्बन्धित संस्थाको नै हुने कानूनी व्यवस्थालाई दुष्कृति कानून भनिन्छ ।
यस्तो कानून घरेलु सहायक तथा अन्य जुनसुकै कामदारको हकमा पनि लागू हुने गरी कानून बनाइएको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा ६७५ को उपदफा (१) मा भनिएको छ, ‘आपूmले काममा लगाएको घरेलु सहायक, अन्य कामदार वा कर्मचारीले त्यस्तो कामको सिलसिलामा असल नियतले गरेको कुनै कार्यबाट कसैलाई हानिनोक्सानी भएमा त्यसरी काममा लगाउने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले दायित्व बेहोर्नु पर्नेछ ।’
सर्वोच्च अदालत बार एशोसिएशनका कोषाध्यक्ष सरोजकृष्ण घिमिरेले नेपालमा यस्तो कानून पहिले नै आवश्यक भएको बताए । उनले भने, ‘ढिलै भए पनि दुष्कृतिसम्बन्धी व्यवस्था आएकाले अब सम्बन्धित रोजगारदाता पक्षले दायित्व पूरा गर्नुपर्ने अवस्था आएको छ ।’
तर दफा ६७५ कै उपदफा (२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कामदार वा कर्मचारीको हेलचेक्र्याइँ वा बदनियतले गरेको कामबापतको दायित्व त्यस्तो कामदार वा कर्मचारीले बेहोर्नुपर्ने उल्लेख गरिएको छ ।
दफा ६७३ मा आफ्ना छोराछोरीले गरेको कार्यको जिम्मेवार बाबुआमा हुनुपर्ने गरी व्यवस्था गरिएको छ । १४ वर्ष उमेर पूरा नभएको नाबालकले गरेको दुष्कृतिबापत निजसँग बसेको आमाबाबु वा बाबु नभए निजको मातृत्व वा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिले दायित्व बेहोर्नुपर्ने सो दफामा उल्लेख छ ।
यसैगरी दफा ६७६ मा आफूले पालेको वा आफ्नो नियन्त्रणमा रहेको पशुले कसैलाई पु¥याएको हानिनोक्सानीको दायित्व पशुधनीले बेहोर्नुपर्ने उल्लेख छ । होश ठेगानमा नरहेको व्यक्तिले गरेको हानिनोक्सानीको जवाफदेही निजको संरक्षक वा माथवर हुने र सोहीबमोजिम निजले दायित्व बेहोर्नुपर्ने दफा ६७४ मा उल्लेख गरिएको छ । संहिताको दफा ६७२ को उपदफा (२) मा दुष्कृतिको परिभाषा गरिएको छ । यसअनुसार सम्बन्धित पक्षहरूबीच कुनै पूर्वकरार सम्बन्ध भएको रहेनछ भने पनि आफैले दायित्व वहन गर्नुपर्ने अरू कसैको त्रुटि, हेलचेक्र्याइँ वा लापरबाही जेसुकैबाट भए पनि गरेको कुनै काम वा अकर्मण्यताबाट उत्पन्न हानिनोक्सानीलाई दुष्कृति गरेको मानिने उल्लेख छ । दुष्कृतिका बारेमा अब सर्वोच्चले ‘गाइडलाइन’ बनाउन आवश्यक भएको कानूनविद्हरूको भनाइ छ ।